रोम- भ्याटिकनका पोप फ्रान्सिस आइतबार भ्याटिकन सहरमा पैदल हिँडेर कोरोना भाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गए। कोरोनाकै कारण भ्याटिकले इस्टर सप्ताह समारोह रद्द गरेको छ। फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्ट बन्द गरिएका छन्।

आइतबार कोरोना नियन्त्रणका लागि गिर्जाघरमा प्रार्थना गर्दै पोप फ्रान्सिस
फ्रान्सले अत्यावश्यक बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले पनि मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ।
जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमवर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाइ गरेको छ।
अमेरिकी विमानस्थलमा भिडभाड
संयुक्त राज्य अमेरिकाले गत साता यूरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो। नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ। विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरे पनि कर्मचारीहरूले नयाँ प्रवेश नियम र मेडिकल स्क्रिनिङमा कडाइ गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको छैन। उनी अमेरिका भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए।
अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही ‘मन्दी’ उत्पन्न भएको बताएका थिए तर उनले यस्तो मन्दी धेरै दिन नरहने दाबी गरेका छन्।
आधिकारिक स्रोतहरूबाट अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४ सय २० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९ सय ३० जना बिरामी भएका छन्। यो रोग विश्वका १ सय ४१ मुलुकमा देखिएको छ।
युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २ हजार नाघेको छ।
इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३ सय ६८ जनाको मृत्यु भएको छ। इटालीमा मृतकको संख्या यो समेत १ हजार ८ सय ९ पुगेको हो। चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ।

यो रोगले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, सेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ- विशेष गरी एयरलाइन्स।
चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने
चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८ सय ४४ पुगेको छ जसमध्ये ३ हजार १ सय ९९ जनाको मृत्यु भएको छ। निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९ सय ११ जना बिरामी निको भएर घर फर्केका छन्।
चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ। चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ।
करिब ७ सय २४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ। इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो।
बेलायतमा चुनाव रद्द
बेलायतले स्थानीय चुनाव रद्द गरेको छ। बेलायतले पनि अन्य यूरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ।
अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ।
नेदरल्यान्ड्स सरकारले नयाँ कोरोना भाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौनक्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ।
धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन्।
अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो।
नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ।

पोर्चुगलले पनि घातक कोरोना भाइरसको विस्तारलाई सुस्त पार्न १ सयभन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ।
अष्ट्रेलिया र न्युजिल्यान्डले विदेशबाट आउने जो कोहीले दुई हप्ता अलग्गै बस्नुपर्ने जनाएका छन्।
अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन्।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन्।
दक्षिण अमेरिकामा थोरै संख्यामा संक्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सीमा बन्द गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।