मिलान (इटाली)–चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण त्यहाँ घट्दोक्रममा छ। तर यो संक्रमणको ‘सुनामी’ युरोपतिर सरेको छ। कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटालीमा आइतबारसम्म १८०९ जनाको मृत्यु भइसकेको छ। यहाँ २४ घण्टामै ३६८ जनाको मृत्यु भएको छ। यस्तै, २४ हजार ७ सय ४७ जनामा संक्रमण देखिएको छ भने निको हुनेको संख्या २३३५ छ। इटाली र त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ, मिलानबाट विजय भुसाल लेख्छन् :
इटालीमा लगभग १५०० को हाराहारीमा नेपाली छन्। हालसम्म सबै सुरक्षित भए पनि संक्रमणको डर सबैमा छ।
नेपालीको बसोबास रहेकै कोदोनिओ सहरबाट इटालीमा कोरोना संक्रमण सुरु भएको थियो। तर पनि यहाँ बस्ने सबै नेपाल सुरक्षित छन् र सबै आफ्नै घरभित्र छन्। संक्रमण कोदोनिओमा कम देखिए पनि अरु सहरमा भने बढ्दो छ।
इटाली पूरै लकडाउन भए पनि यहाँका सुपरमार्केट र फार्मेसी खुल्लै छन्। बस, रेल र मेट्रोलगायतका सबै यातायातका साधन सञ्चालनमै छन्। दैनिक प्रयोगमा आउने खाद्यान्नको अभाव छैन। मास्क भने पाइदैनन्। पसलमा किनमेल गर्न जाँदा सबैलाई १ मिटरको दूरीमा बस्न भनिएको छ।

इटाली सरकारले लोम्बार्दिआ र अरु १४ प्रान्त लकडाउन गरि रेड जोन एरियामा राखेको थियो। तर मृतक र संक्रमितको संख्यामा निरन्तर वृद्धि हुँदा मंगलबारदेखि पूरै इटाली लकडाउनमा छ।
कसैलाई पनि घरबाट बाहिर निक्लन अनुमति दिइएको छैन। प्रहरीहरु हरेक ठाउँमा तैनाथ गरिएका छन्। आवश्यक परेको खण्डमा घरको एक जनालाई मात्र बाहिर निक्लन अनुमति छ, त्यो पनि घरका लागि सामान किनमेल र फार्मेसीमा औषधि किन्नमात्र।

बिना काम घर बहिर निक्लेमा ३ महिना जेल र २०६ यूरोसम्म जरिवाना हुन सक्ने छ।
मृत्यु हुनेको संख्या दिनहु बढ्दा यहाँ बसोवास गर्ने नेपालीमा त्रास बढेको छ। इटालीस्थित गैरआवासीय नेपाली संघ र अरु संघसंस्थाले फेसबुकमार्फत् सूचना आदानप्रदान गरे पनि सबै नेपालीसँग सम्पर्क सम्भव गर्न भने सकेको छैन।स्वीट्जरल्याण्डस्थित नेपाली दूतावासले सूचना जारी गरी सबैलाई सुरक्षित रहन आग्रह गरेको छ।

म आफैं फेसबुकमा ‘नेपाली इन इटाली’ समूह बनाएर सबैलाई समेट्न खोज्दैछु। सबैलाई आवश्यक पर्ने सूचना पनि यसैबाट दिइरहेका छौं।
नेपालीहरु स्वदेश फर्कन चाहन्छन् तर नेपाल जाने बेला बाटोमै संक्रमण भएमा के गर्ने भनेर अन्योल छ। तर नेपाल सरकारले अहिलेसम्म पनि नेपालीलाई नसम्झँदा नेपालीहरु दुःखी भएका छन्।
हाल नेपाल जान कुनै पनि हवाई सेवा उपलब्ध छैन। नेपाल जाने तुर्किस एयरलाइन्सले २ मार्च देखि नै आफ्ना सबै उडान बन्द गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।