काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटनसम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन्।
आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध नेपाल : सुखी नेपाली’को लक्ष्य अनुसार प्रभावकारी बनाउन मन्त्री भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच छलफल आयोजना गरेका थिए।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजना समेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशका तर्फबाट प्रस्तुतिकरण भएको थियो। कार्यक्रमको सुरुमा सहसचिव घनश्याम उपाध्यायले मन्त्रालयका तर्फबाट प्रस्तुति दिएका थिए।
यसपछि सातै प्रदेशका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रका सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमबारे प्रस्तुति दिएका थिए।
सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवहरुले प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमबारे बोलेका थिए।
कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकार गरी तीनै सरकारबीच समन्वय, सहकार्य र समझदारीमा जोड दिने बताएका छन्।
मन्त्रालयले नीति कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाएका थिए।
‘योजना छनोट तथा लगानीमा पनि सबै तहसँग समन्वय र सहकार्य गरिने छ, मन्त्री भट्टराईले भने, ‘उपयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।’
‘समृद्ध नेपाल : सुखी नेपाली’को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँगको सहकार्यमा सबै प्रदेशमा कम्तिमा एक–एक वटा रणनीतिक आयोजनाहरु तय गरिनेसमेत उनले बताएका छन।
प्रदेश सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रबद्र्धन र संघीय सरकारले अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने गरी योजना तयार गर्नुपर्नेमा उनले जोड दिएका थिए।
कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको एकीकृत विकासका लागि अवलम्बन गर्न सकिने उपायका बारेमा चर्चा गरेका थिए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले नेपालको समग्र पर्यटन क्षेत्रको विकास, पन्ध्रौं योजनाले यस क्षेत्रमा लिएको लक्ष्य तथा रणनीतिबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।