काठमाडाैं- चीनबाट सुरु भएकाे काेराेना भाइसरकाे संक्रमण पछिल्लाे समय युराेपमा तीव्रगितमा फैलिएकाे छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस विश्वव्यापी महामारीको 'केन्द्रबिन्दु' अब युरोप भएको जनाएको छ।
युरोपेली देशहरुमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने मानिसको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका विवरण आइरहेकै बेला डब्ल्यूएचओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्। उनले भने, 'यो आगोलाई बल्न नदिऊँ।'
बीबीसीका अनुसार इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भएकाे छ। अहिलेसम्म त्यहाँ कुल १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।
इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ। त्यहाँ शुक्रवार मृत्यु हुने मानिसको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भई १२० र सङ्क्रमित हुने मानिसको सङ्ख्या ४ हजार २ सय ३१ पुगेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले शनिवारदेखि दुई हप्तासम्म लागू हुने गरी सतर्कताको अवस्था कायम गरिने बताएका छन्।
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरसकाे सङ्क्रमण अहिले विश्वभरि फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका १२३ वटा देशमा १ लाख ३२ हजार ५ सयभन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमण अर्थात् कोभिड-१९ देखिएको छ। ५ हजार बढीकाे मृत्यु भइसकेकाे छ।
त्यो सङ्ख्यालाई डब्ल्यूएचओका महानिर्देशक टेड्रसले 'एउटा दुःखद कोसेढुङ्गा'को रूपमा व्याख्या गरेका छन्। 'युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ। चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ,' उनले भने, 'चीनमा महामारी उत्कर्षमा पुगेको बेलाभन्दा बढी घटनाहरू युरोपमा अहिले प्रत्येक दिन देखिन थालेका छन्।'
स्पेन र इटलीमा सङ्ख्या बढिरहँदा फ्रान्समा २ हजार ८ सय ७६ जनामा सङ्क्रमण देखिएको छ भने ७९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सङ्ख्या बिहीवार ६१ थियो। जर्मनीमा ३ हजार ६२ जना सङ्क्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।