विराटनगर– काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले शुक्रबारदेखि हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन सुरु गरेको छ। स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैं उत्पादन सुरु गरेको हो।
उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चापदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन सुरु गरेको अस्पतलका मेडिकल प्रमुख डा सङ्गीता मिश्राले जानकारी दिइन्। अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नाका साथै एक हजार थान डबल लेयरको माक्ससमेत बनाइएको प्रमुख डा मिश्राले बताइन्। अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिन आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ। अस्पताल प्रमुख डा मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र माक्स सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा सुरेश मेहतालाई हस्तान्तरण गरिन्।
अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ। स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ।
यसैगरी अस्पतालले कोभिड–१९ बाट सङ्क्रमितका लागि तीन शय्याकाे फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालले कोभिड–१९ सङ्क्रमण बिरामीको जाँचका लागि प्रयोशालासमेत सञ्चालनमा ल्याएको छ। अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी चारदेखि पाँच सय प्रतिशत मूल्य वृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए।
प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ। अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।