पेरिस- फ्रान्समा एक सय जनाभन्दा बढी व्यक्तिलाई एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ। बढीमा एक सय जनासम्म मात्रै जम्मा हुन पाइने र त्योभन्दा बढी जम्मा हुन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरिएको छ।
प्रधानमन्त्री एजेर्ड फिलिपका अनुसार कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो।
कोरोना भाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू कम्तिमा आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताए। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका थिए। उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने उल्लेख थियो।
'विद्यालयहरु सकेसम्म छोटो समयको लागि बन्द हुनेछन्,' स्वास्थ्य मन्त्री ओलिभियर भेरानले युरोप १ रेडियोलाई बताए, 'हामी देशभरि नै लागू हुनेगरी नयाँ कदम चाल्दैछौं। विद्यालयहरू आवश्यकता अनुसार बन्द रहने छन्। यो कम्तिमा १५ दिनका लागि हुनेछ।' (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।