काठमाडौं–प्राइम कमर्सियल बैंकमा २६ वर्षे कैलाश विकास बैंक बिहीबारदेखि विलय भएको छ। सफल मर्जरपछि बिहीबार दुवै बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन्। बैंकलाई सिनर्जी प्रदान गर्न मर्जर गरिएको प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बताए।
तत्कालीन कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले २६ वर्षको इतिहास बोकेको संस्थालाई विलय गरिएको भन्दा पनि नदीबाट महासागरमा पुगेको बताए। काठमाडौंमा मात्रै केन्द्रित रहेको र गण्डकी र ५ नम्बर प्रदेशमा मात्रै केन्द्रित रहेको बैंकको सहकार्यले शाखा सञ्जाल र व्यवसाय विस्तारमा थप टेवा पु¥याउने उनले दाबी गरे। दुबै बैंकको मर्जर अन्यको भन्दा युनिक रहेको उनले बताए।
कैलाश विकास बैंकको ठाउँमा साइनबोर्ड परिवर्तन हुनेबित्तिकै बैंकले सरकारी निक्षेप संकलन गर्ने बाटो खुलेको उनले बताए। मर्जरपछि निक्षेप संकलन, कर्जा लगानी तथा चुक्ता पुँजीको हिसाबले वाणिज्य बैंकहरु मध्ये पाचौ नम्बरमा पुग्ने श्रेष्ठले जानकारी दिए।
कैलाश विकास बैंकलाई ठूलो बैंक बनाउने सपना पुरा भएको कैलाश विकास बैंकका अध्यक्ष नारायण पौडेलले बताए। दुई वर्ष अगाडि ५६ वटा शाखामा सीमित प्राइम मर्जरपछि दुई सयभन्दा धेरै शाखा सञ्जालसहित ५ औ ठूलो बैंक भएको मर्जर समितिका संयोजक गजेन्द्र विष्टले बताए।
नेपाल राष्ट्र बैंकले चार गुणाले पुँजी वृद्धि गर्दा चार गुणाले प्रतिफल बढाउन चुनौतीपूर्ण रहेको अवस्थामा बैंकले मर्जरको पोलिसी अपनाएको विष्टले जानकारी दिए। पुँजी वृद्धिसँगै प्रतिफलको दबाबमा केही बैंकले आक्रामक व्यवसाय बिस्तार गर्दा दिगो नभएकाले प्राइमले आक्रामक व्यवसाय विस्तारलाई प्राथमिकता नदिएको उनले जनाए। यसै अवधिमा बैंक सञ्चालक र व्यवस्थापनबीच प्रतिफललाई लिएर धेरै मनमुटाव हुने गरेको भन्दै विष्टले अन्य बैंकभन्दा प्राइमले फरक मोडललाई अंगिकार गरेको बताए।
मर्जरपछि प्राइमको निक्षेप संकलन एक खर्ब ३० अर्ब रुपैयाँ र कर्जा लगानी एक खर्ब १५ अर्ब नाघ्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।