काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को प्रकोपबाट उम्कदै गरेको चीनले अन्य संक्रमित देशलाई पनि सघाउन थालेको छ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको युरोपेली मुलुक इटालीलाई सघाउन ७ सदस्यीय स्वास्थ्य विज्ञ टोली पठाएको छ। बुधबारसम्म इटालीमा १० हजार भन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने ६ सय ३१ जनाको मृत्यु भइसकेको छ।
दुई देशका विदेशमन्त्रीहरुबीच मंगलबार भएको टेलिफोन वार्तापछि चीनले यस्तो सहयोग इटालीमा पठाएको हो।
चिनियाँ स्थानीय मिडियाहरुका अनुसार चीनियाँ रेडक्रसको मेडिकल टोली इटाली प्रस्थान गरेको हो।
बेइजिङले यस्तै साहायता इरान, इराक, पाकिस्तान, दक्षिण कोरिया र जापानमा पनि पठाएको छ। बेइजिङले एकसाता भित्र विश्व स्वास्थ्य संगठनलाई २० मिलियन अमेरिकी डलर बराबरको साहायता कोरोना भाइरसविरुद्ध लड्न प्रदान गर्ने घोषणा गरिसकेको छ।
प्रकोपबाट उम्किदै चीन
कोरोना भाइरसको संक्रमणले चीनलाई ठूलो चुनौती थपेको छ। ३ हजार १ सय ५८ जना चिनियाँ नागरिक गुमाएको चीनले पछिल्लो समय विश्वसका अन्य देशमासमेत सहयोग गर्न लागेको हो।
पश्चिमा देशहरुको निरन्तरको आलोचनाको बावजुत पनि यसको केन्द्रबिन्दु हुवे प्रान्तसहित चीनभर नै कोरोना संक्रमण व्यापक दरमा घटेको छ।
इटाली, बेलायत, अमेरिका जस्ता देशको तुलनामा पछिल्लो समय चीनमा नयाँ संक्रमित निकै कम छन्।
पश्चिमा यो सफलताको जस चीनलाई दिन तयार नभएको भए पनि चीनको अथक प्रयासको परिणाम देखिएको छ।
मंगलबार संक्रमणको केन्द्र वुहान पुगेर चिनियाँ राष्ट्रपति सी चीनफिङले सफलताको बलियो सन्देश दिइसकेका छन्। यद्यपी त्यहाँ अझै पनि थोरी केही गर्नुपर्ने काम भने बाँकी नै छन्। (एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।