काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा कसैले कृत्रिम अभाव सिर्जना गरेर वस्तुको कालोबजारी तथा नाफाखोरी गरेको भेटिए टोल फ्रि नम्बर ११३७ मा सिधै सम्पर्क गरेर गुनासो टिपाउन आह्वान गरे।
तर आश्चर्यको कुरा त्यो नम्बरमा फोन गर्दा एक शाखा अधिकृतको मोबाइलमा घण्टी बज्छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जागिर गर्ने ती कर्मचारीले ३ करोड नेपाली उपभोक्ताको गुनासो सुन्ने र त्यसको समाधान खोज्ने काम गरिरहेका छन्। अब प्रश्न रहन्छ–१० बजे अघि र ५ बजे पछिको समयमा कसले गुनासो सुन्छ त?
कोरोना कहरका कारण दैनिक उपभोग्य र अत्यावश्यक वस्तुको माग बढेसँगै व्यापारीहरुको अराजकता पनि बजारमा देखिन थालेको छ। मास्क, ग्याँस, नुनलगायत वस्तुको कृत्रिम अभाव छ। भएकामा पनि व्यापारीहरुले मुल्य बढाएका छन्। यी र यस्तै समस्याका बारेमा उपभोक्ताको गुनासो सुन्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फोन गर्दा शुल्क नलाग्ने ‘टोल फ्रि नम्बर–११३७’ दिएको छ।
तीन–चार वर्षदेखि विभागले कार्यान्वयनमा ल्याएको यो नम्बर पछिल्ला दिनमा भने निकै व्यस्त हुन थालेको छ। कसैले ग्याँस नपाएको त कसैले मास्क किन्दा बढी मुल्य तिर्नुपरेको गुनासो सुनाउँछन्। एकाबिहानैदेखि आधारातसम्मै गुनासो आईरहन्छ। तर त्यो गुनासो सुन्न भने एकजना मात्रै छन्, विभागका वरिष्ठ अधिकृत दीपकराज पोखरेल।
११३७ मा फोन गर्दा पोखरेलको मोबाइलमा घण्टी बज्छ। तर वाणिज्य विभागमा उनको जिम्मेवारी टोल फ्रि नम्बरमा आएका गुनासो सुन्नेमात्र होईन। बजार अनुगमन, तिनका फाइल मिसिलहरुको अध्ययन, कारबाही र फछ्र्यौटसम्मका काम गर्छन् उनले। मंगलबार दिउँसो नेपाल लाइभकर्मी विभागको कार्यालय बबरमहल पुग्दा पोखरेल बजार अनुगमनमा निस्केका थिए। महानिर्देशक नेत्रप्रसाद सुवेदीसँग यस विषयमा कुरा गर्न खोज्दा उनी कार्यालयमा भेटिएनन्। पटक–पटक फोन सम्पर्क गर्दा उनले उठाएनन्।
पोखरेल विभागका सहप्रवक्ता पनि हुन्। साँझपख उनै पोखरेललाई यस विषयमा सोध्दा कार्यालय समयबाहेक अरु बेला बढी गुनासो आउने भएका कारण आफूले मात्रै धान्न नसक्ने बताए। ‘टोल फ्रि नंम्बर त पहिल्यैदेखि थियो। तर हिजो–आज धेरै फोन बज्छ। दिनभरिका सबै गुनासो मैले नै हेरिरहेको छु। विभिन्न सिफ्टमा साँझ–बिहान–दिउँसो गुनासो सुन्ने कर्मचारीको व्यवस्था गरिदिए सजिलो हुन्थ्यो। नत्र एकजनाले जुनसुकै बेला र जस्तोसुकै अवस्थामा पनि गुनासो सुन्नुपर्ने अवस्था छ,’उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।