काठमाडौं- तस्बिरको पार्श्वमा फूल सधैं राम्रो देखिँदो रहेनछ। महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरको बगैंचा अघिल्तिर तारा रोकायाको तस्बिर खिचेपछि त्यस्तै लाग्यो। तस्बिरको पछाडि फूल नियोजित रुपमा पारेको होइन। संयोगले पर्यो तर कस्तो अमिल्दो संयोग!
हुन त बीचमा तारबार छ। त्यो बारले फूल र तारालाई त्यसरी नै छुट्याएको छ, जसरी नियतिले तारालाई खुशीबाट अलग्याएको छ। उता फूल आँगनमै आइपुगेको वसन्त ऋतुलाई स्वागत गर्न लागे जसरी चमचमाइरहेका छन्, यता ताराको जीवनबाट २०७२ सालदेखि कहिल्यै शिशिर टाढा भएको छैन। बरु बीचको बसन्त हराएर वर्षा आउँछ। दुःख, पिर र अभावले उनको आँखामा झरी परिरहन्छ।
फेरि अर्को नमिल्दो संयोग। आइतबार नै परेछ, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। त्यो उनलाई थाहा हुने कुरै भएन। सम्झाइदिएर हुनेवाला पनि केही थिएन। श्रमिक महिला हुन् उनी। त्यस्ती श्रमिक महिला हुन्, जसले एउटा पुरुष (भाइ)को जीवन जोगाउन श्रम गरिरहेकी छिन्।
डोटी बारापाटाकी उनी २१ वर्षीय भाइ सुरेश रोकायाको उपचारका लागि हरेक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मै श्रममा जुट्छिन्। २०७२ सालदेखि मिर्गौला रोगबाट ग्रस्त सुरेश १० महिनायता डायलाइसिसको भरमा जिइरहेका छन्। तिनकै भाइको डायलाइसिस गर्न उनी काठमाडौंमै डेरा गरेर बसेकी छिन्। खर्चको जोहो गर्न मजदुरी गर्छिन्।
घरमा ५८ वर्षको उकालो हिँडिरहेकी एक्ली आमा छिन्। उनीबाट खर्चको आशा गर्ने कुरै भएन। तर १५ दिन भयो, तारा बेखर्ची भएको। भाइलाई अकस्मात् बिरामले च्यापेपछि अस्पतालको इमर्जेन्सीमा पुर्याउनुपर्यो। आइसियूमा केही दिन राखेर अहिले नेफ्रो वार्डको निःशुल्क बेडमा सारेकी छिन्। ‘डाक्टरसाबले त केही दिन अझै आइसियुमा राख्नुपर्छ भन्नुहुन्थ्यो। पैसा भएन, जर्बजस्ती सारेँ,’ उनी भन्दै थिइन्।
भाइ बिरामी भएको पीर छँदैछ। अहिले त्यसैमाथि थपिएको छ– औषधि किन्न पैसा कहाँबाट ल्याउने? घरभाडा कसरी तिर्ने?
भाइमाथि ठूलो भरोसा थियो उनको। त्यसैले एसएलसी पास गरेपछि उनले भएको जग्गाजमिन दुई लाखमा बेचेर ल्याब टेक्निसियन पढ्न पठाएकी थिइन् काठमाडौं। यति हेल्थ साइन्समा पढिरहेकै बेला मिर्गौलाको समस्या आइलाग्यो। त्यसपछि बुढी भएकी आमाको जीवनको उत्तरार्ध सुखमय बन्ने आश टुट्यो।
एसएलसी पास गरेकी तारा २० वर्षको भरिलो उमेरकी थिइन् भाइको मिर्गौलामा समस्या आएको वर्ष २०७२ मा। भाइलाई पढाउने र आफू पढ्ने चाहना थियो। तर, एक्कासी भाइ बिरामी परेपछि उनले आफ्नो चाहना त्यागिन्। त्यो दिनबाट मुर्झाएकी तारालाई एकदिन खुशी मिलेन।
जीवनमा संघर्ष गर्ने हिम्मत र ताकत त छ उनीसँग। तर, अवस्था यस्तो छ कि केही सहयोग गर्ने होइन, ‘केही परे हामी छौं नि’ भन्ने ‘आफन्त’समेत छैनन्। आफन्त नै नभएका होइनन्। उनका आफ्नै काकाको बुढानीलकण्ठमा घर छ। जेठा दाइ पनि छन्। तर, उनका भाइ बिरामी परेपछि कोही सोध्नसमेत आएका छैनन्। उनले नै सहयोगको अपेक्षा गरिन्। तर्किदै गए आफन्तहरु। उनले रुँदै भनिन्, ‘हामी केही गर्न सक्दैनौं। मर्न दे भन्छन्। सकिन्छ त त्यसरी?’
विवाह गर्ने उमेर पुगेकी उनलाई पनि छ घर बसाउने चाहना। २५ वर्ष भर्खर टेकेकी उनी बेलामौकामा विवाहबारे सोच्छिन्। तर, भाइको अनुहार हेर्छिन्, अनि त्यो सपना स्थगित हुन्छ।
भाइका लागि मिर्गौला दिन आमा तयार छिन्। उनी आफैं पनि तयार। तर, ब्लड ग्रुप नै मिल्दैन। डाक्टरले विकल्प दिएका छन्, 'कसैसँग साटेर मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। यही झिनो विकल्पमा तारा भाइलाई एकदिन तन्दुरुस्त बनाउन सक्ने सपना देखिरहेकी छिन्।
प्रत्यारोपण गर्नका लागि चाहिने रकमको जोहो गर्न सकिने अवस्था उनी देख्दिनन्। बेडमा लम्पसार परिरहेका भाइलाई हेर्दै भक्कानिन्छन्। अहिले पनि डाक्टरले सिफारिस गरेका सवै औषधि खुवाउन सकेकी छैनन्। त्यसैको परिणाम भाइलाई गाह्रो परेर इमर्जेन्सीमा भर्ना गर्नुपर्ने अवस्था बन्यो।
भाइ ठिक भएर नियमित डायलाइसिसमा जान सक्ने मात्रै बन्यो भने पनि आफू फेरि १२ घन्टे मजदुरीमा खटेर केही रकम जोहो गर्न सक्ने आशा उनीसँग छ। गिट्टी, बालुवा र इँटा बोकेरै भएपनि भाइको उपचार गर्ने आँट छ। तर, परिस्थिति यस्तो छ कि उनलाई नियतिले त्यो अवसर समेत दिइरहेको छैन।
त्यही अस्पतालमा छन्, मिर्गौलाकै अर्का बिरामी प्रधानमन्त्री केपी शर्मा ओली। उनलाई भेट्न ‘ठूला मान्छे’ आइरहन्छन् अस्पताल। उनलाई लाग्छ- भनिदिउँ। तर, भन्ने कसरी? उनीहरूका सुरक्षाकर्मीले छेउछाउ जान दिँदैनन्।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भयो भन्दा खुशी हुने उनी पनि थिइन्। किनकि उनलाई लागेको छ– प्रधानमन्त्री ओलीले अरु आफूजस्तै बिरामीको समस्यालाई हल गर्नेछन्। गरिबलाई औषधि र उपचारमा सजिलो बनाउनेछन्।
आफैंलाई फेरि भन्छिन्, ‘आफन्तले नै हाम्रा दुःख सुनेनन्। अरुले के सुन्लान्?’ त्यसपछि बगैंचाको तारबारमा झुन्डिएर एकपटक हेरिन् पश्चिमतिर। जहाँ ठूलो तस्बिर टाँगिएको प्रधानमन्त्री ओलीको र तस्बिर मुन्तिर लेखिएको छ– गेट वेल सुन पिएम ओली।
अन्त्यमा उनीसँग सहयोग गर्न चाहनेका लागि खाता नम्बर मागें। एकपाना पनि नच्यातिएको चेकबुकै थमाइन्। खातामा पैसा भए पो चेकबुकको पाना च्यात्तिन्थ्यो। पैसा हात पर्नेबित्तिकै भाइको औषधि ल्याउन कुद्नुपर्ने उनले कसरी जम्मा गरुन् खातामा पैसा। ग्लोबल आइएमई बैंकको काठमाडौं धापासी ब्राञ्चमा उनको खाता रहेछ। तारा रोकाया नामको खाता नम्बर ०८०७०१००११७९२।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।