काठमाडाैं- भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
उनले एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे।
यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरे।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका थिए।
यसैबीच, प्रधानमन्त्री ओलीको आज बिहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया सुरु हुने भएको छ। प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीले गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।