काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोडभन्दा धेरैको नक्कली बैंक ग्यारेन्टी निर्माण गरेर भ्रष्टाचार गरेको आरोपमा सुनौला खिम्ति र शिवराम जेभीका ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीको एक आयोजनाबाट ठेक्का सम्झौता तथा मोविलाइजेशनबापतको पैसा लिन उनीहरुले नक्कली बैंक ग्यारेन्टी बनाएका थिए।
उनीहरुले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलिखेलबाट एक करोड ५८ लाख बराबरको बैंक जमानत लिएका थिए। नक्कली बैंक ग्यारेन्टी पेश गरेर उनीहरुले कामै नगरी आयोजनाबाट रकम लिएपछि अख्तियारमा उजुरी परेको थियो।
अख्तियारले नक्कली बैंक ग्यारेन्टी निर्माण गर्न संलग्न भएको भन्दै राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक राजुप्रसाद ढकाललाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सुनौला खिम्ती(अजम्बर)-शिवराम जे.भी. का जेभी पार्टनरहरु शिवजी सापकोटा, बैकुण्ठप्रसाद भण्डारी, धर्मराज भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खानेपानीका दुई कर्मचारीविरुद्ध मुद्दा
नक्कली बैंक ग्यारेन्टी चेकजाँज नै नगरी भुक्तानी दिएको भन्दै अख्तियारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुवराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
निर्माण कम्पनीका प्रतिनिधि तथा संचालकहरुसँग मिलेमतो गरी सरकारी रकम हानि नोक्सानी पुर्याउने कार्य गरेको भन्दै अख्तियारले उनीहरुसँग २ करोड २ लाख ३७ हजार बिगो र सोही बराबरको जरिवाना असुल गर्न माग गरेको छ। त्यस्तै भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय गर्न पनि आरोपपत्रमा माग गरिएको छ।
ठेकेदारहरु र बैंक प्रबन्धसँग २ करोड र कैद सजाय
अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक राजु ढकालसँग पनि २ करोड २ लाख ७३ हजार असुल हुुनपर्ने माग गरेको छ।
त्यस्तै निर्माण कम्पनीहरु सुनौला खिम्ती (अजम्वर-शिवराम जे.भी. पार्टनरहरु शिवराम कन्स्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्ती कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक धर्मराज भण्डारीविरुद्ध पनि २ करोड २ लाख ३७ हजार बिगो र कैद हुनपर्ने माग गरेको छ।
नक्कली बैंक ग्यारेण्टी पेश गरी आफ्ना प्रतिनिधिमार्फत ठेक्काको सम्झौता र मोविलाइजेशन पेश्की भुक्तानी लिई ठेक्काको म्याद थपसमेतको कार्य गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
विशेष अदालतमा दायर भएको उक्त मुद्दामा उनीहरुसँग बिगो बराबरको जरिवाना समेत असुल हुुनपर्ने माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।