काठमाडौं- साविक नेपाल खाद्य संस्थान (हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) का तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठ र खरिद इकाई प्रमुख खड्ग बहादुर ज्ञवालीले धान कुटान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। श्रेष्ठ र ज्ञवालीमाथि २ लाख ३८ हजार ९ सय ५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
खाद्य संस्थान शाखा कार्यालय, भैरहवामा प्रतिघण्टा १ मेट्रिक टन धान कुटान गर्ने राइस मिल जडान गर्ने र अन्य निर्माण काम गर्नुपर्नेमा सो नगरी महाप्रबन्धक श्रेष्ठदेखि फाँटवाला कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो।
तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठले संस्थान र एमएन इन्टरनेशनलबीच शाखा कार्यालय भैरहवामा १ टन प्रतिघण्टा धान कुटानी गर्ने स्वचालित राइस मिल जडान गर्नको लागि २०७२ जेठ २८ गते भएको सम्झौतामा हस्ताक्षर गरेका थिए।
त्यसपछि पनि पटक पटक गरी सम्झौताको म्याद थप गर्न सदर गर्ने तथा सम्झौताको अवधि र कार्य सम्पादन जमानतको अन्तिम म्याद रहेको अवधिसम्म श्रेष्ठ नै संस्थानको महाप्रबन्धकका रुपमा बहाल थिए।
तर‚ श्रेष्ठले आफ्नो ओहदाले गर्नुपर्ने काम नगरी सम्झौताको शर्तअनुसार कार्यसम्पादन जमानत धरौटी बापतको २ लाख ३८ हजार ९ सय ५६ रुपैयाँ बराबर रकम जफत नगरेको भन्दै अदालतले मुद्दा दायर गरेको हो।
त्यस्तै खड्ग बहादुर ज्ञवालीले खाद्य संस्थान र एमएन इन्टरनेशनलबीच भएको सम्झौताअनुसार कार्य सम्पादन नभएपछि खरिद इकाई प्रमुखको रुपमा कार्य सम्पादन जमानतबापतको रकम जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गर्नुपर्नेमा मिल सप्लायर्स एमएन इन्टरनेशनललाई कार्य सम्पादन जमानतको म्याद थप गर्न भनी पत्राचार गरेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।