काठमाडौं- अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि उनले राजीनामा दिएका हुन्। उनी आज राति १२ बजेदेखि स्वतः पदमुक्त हुँदै थिए।
मन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा दिएको बुझिएको छ। खतिवडाले मुख्यसचिव रेग्मीलाई केही समयअघि सिंहदरबारस्थित अर्थमन्त्रालयको आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिएका हुन्।
मन्त्री खतिवडाको राजिनामा आजै राष्ट्रपतिले स्वीकृत गर्नेछिन्। खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रीका लागि सिफारिस पनि आजै गर्ने बुझिएको छ। भोलि मिर्गौला प्रत्यारोपण गर्न लागेका ओलीले उनलाई आजै मन्त्रीमा सिफारिस गर्ने भएका हुन्।
आजै सिफारिस गरिए राष्ट्रपति भण्डारीले भोलि नै उनलाई नियुक्त गर्दै शपथ ग्रहण गराउनेछिन्।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार संघीय संसद सदस्य नरहे पनि खतिवडा मन्त्री हुनेछन् तर पुनः राष्ट्रिय सभा सदस्यका लागि सिफारिस हुन नसकेमा भने ६ महिनापछि उनको मन्त्री पद गुम्नेछ।
संविधानमा भनिएको छ, ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछन् तर मन्त्रीले शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।