काठमाडौं– सर्वोच्च अदालतको रिक्त एक पदका लागि न्यायाधीश बन्न लबिङ् सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अन्तर्गत पूर्व माओवादीको कोटामा परेको न्यायाधीश पदमा नियुक्तिका लागि आधादर्जन आकांक्षीहरुले लबिङ् सुरु गरेका छन्।
आकांक्षीहरुले लबिङ सुरु गरे लगत्तै रिक्त पदमा सिफारिसका लागि यही साता बैठक बस्ने तयारी भइरहेको छ। न्यायाधीश नियुक्तिका लागि उनीहरुले राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग लबिङ् सुरु गरेका छन्। पूर्व एमाले र कांग्रेसको कोटाबाट यसअघि नै हरि फुयाँल र कुमार रेग्मी नियुक्त भएकाले रिक्त एक सदस्यमा पूर्व माओपादी पक्षको दावी रहँदै आएको छ।
यसअघि न्याय परिषद्ले उक्त पदमा परिषद्का पूर्व सदस्य पदम बैदिकको नाम सिफारिस हुनै लाग्दा अन्तिम समयमा स्थगित भएको थियो। परिषद्को सदस्य भएको व्यक्तिलाई सर्वोच्चको न्यायाधीश बनाउन नहुने नेपाल बार एशोसियनको विरोधपछि वैदिकको नाम रोकिएको थियो। फेरि दलहरुले रिक्त पदमा नियुक्ति गर्न भनेपछि परिषद्ले तयारी थालेको छ।
सर्वोच्चको न्यायाधीश बन्न चर्चामा बैदिक पनि रहेका छन्। त्यस्तै अधिवक्ताहरु दिनमणि पोखरेल, तुलसी भट्टलगायतको नाम चर्चामा रहेको छ। न्यायपरिषद्मा प्रधानन्यायाधीश अध्यक्ष, वरिष्ठ न्यायाधीश सदस्य, कानुनमन्त्री सदस्य, बार एशोसियन र प्रधानमन्त्रीको सिफारिसमा सदस्य रहने संवैधानिक व्यवस्था छ।
झगडिया र प्रधानन्यायाधीशसंँ बस्न मिल्छ?
परिषद्को सदस्यको रुपमा कानुनमन्त्री शिवमाया तुम्वाहाम्फे सहभागी हुने छिन्। तर उनलाई विपक्षी बनाएर सर्वोच्च अदालतमै दुई मुद्दा विचाराधिन रहेका छन्।
सूचना आयोगको नियुक्ति र सभामुख/उपसभामुख एउटै दलको भएको दावी गर्दै दायर भएको मुद्दा फैसला भएको छैन। सूचना आयोगका नियुक्ति गर्दा उनले सभामुखको हैसियतमा उपसभामुख भएपछि सिफारिस समितिको नेतृत्व गरेकी थिइन्। उक्त कार्य गैरकानुनी भएको जिकीर गर्दै दायर भएको रिटमा सोमबार पेशी भएपनि सुनुवइ हुन नसकि स्थगित भएको थियो।
मुद्दाको एक प्रतिवादी भएकाले उनी झगडिया हुन् भने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र अर्का न्यायाधीश दिपककुमार कार्की न्यायाधीश भएकाले यसमा स्वार्थ बाझिने सम्भावना रहेको कानुनी क्षेत्रका जानकार बताउँछन्। उक्त मुद्दा दुवै न्यायाधीशले हेर्ने सम्भावना भएकाले पनि उनीहरुसँगै बसेर कुनै निर्णय गर्दा प्रश्न उठ्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।