काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे बुधबार बिहान ८ बजेबाट मिर्गाैला प्रत्याराेपणकाे कार्य सुरु हुने भएकाे छ। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालकाे भिभिआइपी वार्डमा भर्ना भएका छन्।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएकाे हाे। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्।
स्वास्थ्य परीक्षणपछि आउने रिपाेर्टहरुकाे तीन पटक परीक्षण गरिने छ। उनकाे नयाँ बिरामीकाे जस्तै गरी सबै प्रक्रिया पुर्याएर मिर्गाैला प्रत्याराेपण गरिने छ।
मिर्गाैला प्रत्याराेपणकाे तयारीका लागि आज डायलाइसिस गरिँदै छ। उनलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन बनाइएको छ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला ज्ञवाली पनि साेमबार नै अस्पताल पुगिसकेकी छन्।
अस्पताल निर्देशक डा प्रेम खड्गीका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्नेछन्। उनका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने टिममा डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा दिव्या सिंह शाह, डा सुवाश आचार्य लगायत रहेका छन्। यस्तै उक्त टोलीमा दुई जना एनेस्थेसियाका डाक्टर र ८ जना नर्स तथा स्वास्थ्यकर्मीसमेत रहने छन्।
प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधी नेपाल आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।