काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे जारी प्रदेश १ काे आन्तरिक भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएकाे छ। सरकारले कोराेना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा तथा सम्मेलन नगर्न गरेको आग्रहअनुसार नेकपाले प्रदेशको भेला तथा प्रशिक्षण रोकेको हाे।
प्रदेश १ को झापास्थित विर्तामोडमा आजका लागि कार्यक्रम तय भएको थियो। तर, बिहानै उक्त कार्यक्रम रोक्न केन्द्रले निर्देशन दिएको प्रदेश १ का इन्चार्ज तथा स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए।
विर्तामोडको सिटी सेन्टरमा मंगलबार हुने प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायतका नेता जाने कार्यक्रम थियो। तर, बिहानमात्रै नेताहरुले हाललाई कार्यक्रम स्थगित गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएका हुन्।
निर्देशनपछि झापा जान एयरपोर्ट पुगिसकेका गृहमन्त्री रामबहादुर थापा फर्किएका छन्। वरिष्ठ नेता झलनाथ खनाल भने कार्यक्रमका लागि हिजो नै झापा पुगिसकेका थिए।
आज प्रशिक्षण कार्यक्रम गर्ने र भोलि सुखानी सहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेकपा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सम्बाेधन गर्ने गरी कार्यक्रम तय भएकाे थियो। उक्त कार्यक्रम पनि अब स्थगित हुने भएको छ।
नेकपाले यसअगाडि कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेलाको आयोजना गरिसकेको थियो। भेला गर्न प्रदेश १ र २ मा मात्र बाँकी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।