काठमाडौं– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजनीतिक तहबाट उच्च तहको प्रतिनिधित्व गराउन चीनका लागि नेपाली राजदूत फिर्ता बोलाइएको बताएका छन्।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
उनलाई फिर्ता बोलाउनुको कारण कार्यसम्पादन नभएको उनले बताए।
‘परराष्ट्र मन्त्रालय यो निष्कर्षमा पुगेको छ कि छिमेकी मुलुकहरुमा सम्भव भएसम्म उच्च तहको राजनीतिक प्रतिनिधित्व गराउनु उपयुक्त हुन्छ, हामीलाई काम गर्नका लागि सजिलो हुन्छ भन्नेमात्रै हो,’ सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री ज्ञालीले भने, ‘उहाँको कार्यसम्पादनमाथि, निष्ठामाथि कुनै प्रश्नहरु छैनन्। परराष्ट्र मन्त्रालयले त्यसमा कुनै प्रश्न उठाएको छैन।’
एक वर्ष जति पदावधि बाँकी रहँदै सरकारले पौड्याललाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको हो।
उनी २०७३ कात्तिकमा चीनका लागि राजदूत नियुक्त भएका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला उनलाई राजदूतमा सिफारिस गरिएको थियो।
पौड्याललाई फिर्ता बोलाएको सरकारले उक्त ठाउँमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक सरकारमा रहँदा पाण्डेलाई चीनका लागि सिफारिस गरेको थियो।
रिक्त स्थानमा राजदूत चाँडै
मन्त्री ज्ञवालीले रिक्त स्थानमा राजदूत पनि चाँडै नियुक्त गरिने बताए। अहिले दक्षिण कोरिया र दक्षिण अफ्रिकामा राजदूत पद खाली छ। अमेरिकामा कार्यबाहक राजदूतले काम चलाइरहेका छन्।
मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको मिर्गौलाको शल्यक्रिया भएपछि ती ठाउँमा पनि राजदूत नियुक्त गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।