काठमाडौं- बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ। नयाँ निक्षेपको सिर्जना हुन नसकेपछि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको हो। तरलता अभावसँगै औसत निक्षेप ब्याजदर बढ्न थालेको छ।
बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले अल्पकालीन निक्षेप सिर्जना गर्न १० अर्ब रुपैयाँको रिपो जारी गरेको छ। राष्ट्र बैंकले न्यूनतम ४ दशमलव ५ प्रतिशतभन्दामाथिका लागि ब्याजदर कायम हुने गरी बोलकबोल आह्वान गरेको थियो।
रेमिट्यान्सको आउने क्रम घटिरहेको र सरकारले खर्च बढाए पनि बजारमा निक्षेप सिर्जना हुन नसकेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। गत साता बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ मात्रै तरलता देखिएकोले राष्ट्र बैंकले अल्पकालीन समाधानका लागि रिपो जारी गरेको हो।
बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ४ दशमलव ५ प्रतिशत नाघ्न थालेपछि ब्याजदर नियन्त्रका लागि पनि रिपो जारी गरेको हो। राष्ट्र बैंकले ब्याजदर स्थिर बनाउन यस्ता उपकरण प्रयोग गर्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।