काठमाडौं- सशस्त्र प्रहरीका अवकास प्राप्त नायव महानिरीक्षक माधवबहादुर थापाले ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ पाएका छन्।
१९ औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सो पुरस्कार दिएका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी उत्कृष्ट बाहिनी घोषित भयो। प्रधानमन्त्रीले मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ को पुरस्कार दिएका थिए।
विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलले कठिनाईका समय र प्राकृतीक बिपत्तिको बेला उद्धार कार्यमा असाधारण योगदान पुर्याएको बताएका थिए। बेरुजु फर्स्यौटमा सशस्त्र प्रहरी बलले राम्रो काम गरेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए।
उनले बललाई समयानुकूल प्रभावकारी बनाउँदै लैजान सरकार गम्भीर रहेको र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा र राम्रो तालिम उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी जनस्तरमा भिजिसकेको र प्रभावकारी सुरक्षा निकायको रुपमा आफूलाई उभ्याउन सफल भएको बताए।
देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण लगायतका क्षेत्रहरुमा राम्रो काम गरेको उनले बताए।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न र जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी सधै तयार रहेको बताए। उनले संगठनले परिचालनका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको र विपद्का बेला खोजी तथा उद्धार कार्यमा खटिएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।