काठमाडौं- करिब चार वर्षअघि कुनै पराइ गाउँबाट नयाँ नाता जोड्न नयाँ परिचयसहित देउराली गाउँमा आइपुगेको छ, झिम्के।
उनको शिरमा ढाकाटोपी, काँधमा झोला र झोलाभित्र बाँसुरी कहिल्यै छुट्दैन। बासुरीको धुनजस्तै मिठो बोली‚ व्यवहारले उनले गाउँलेको मन जितेका छन्। गाउँमा साह्रो–गाह्रो पर्दा सबैले सबैभन्दा पहिले सम्झिने पात्रै उनी हुन्।
गाउँलेहरू नै भन्छन्, ‘झिम्के आएपछि गाउँको मुहारै परिवर्तन भयो।’ गाउँमा बाटोघाटो बनाउनेदेखि मन्दिर बनाउने, कुलो खन्ने, पानी ल्याउने सबै काम उनकै अग्रसरतामा भयो।
गाउँमै दिदी–भिनाजुको मनको नयाँ साइनो जोडेका छन् उनले। भान्जाहरू छन्। खुब माया गर्छन् भाञ्जाहरूलाई। स्कुल पुर्याउने‚ ल्याउने सबै आफैं गर्छन्।
गाउँमा कसैको बिहे गराउन होस् या मलामी जान, अघि सरिहाल्छन्। त्यसैले त पाहुना बनेर आइपुगेका यिनी केही वर्षमै गाउँका ‘नायक’ भए।
तर, एक दिन जब गाउँलेलाई झिम्केको यथार्थ थाहा हुन्छ, गाउँको सर्वप्रिय एकाएक घृणाको पात्र बन्छन्। कारण– उनी दलित हुनु।
गाउँको पुजारी काका हुँदै जब सबैतिर झिम्केको यो यथार्थ खुल्छ, त्यसपछि गाउँमा विभेदको आगो दन्किन्छ।
झिम्के खासमा सार्की हुन्छन्। गाउँमा चोरीको झुटो आरोप लागेपछि नै उनी भाग्दैभाग्दै देउराली आइपुगेका हुन्छन्- नयाँ संसारको खोजीमा। तर‚ आफ्नो गाउँमा झैं अपमानित हुने भयले उसले त्यहाँ आफूलाई टिस्टुङ - पालुङको बस्नेत काजी भनेर परिचय दिएका हुन्छन्।
जब गाउँलेले उनको वास्तविकता चाल पाउँछन् – गाउँ निकालाको निर्णय गर्छन्। उनले गाउँको पानी पिउन त परको कुरा, धारा छुनसम्म पाउँदैनन्। मनले बनाएको भिनाजुसम्मले भन्छन्, ‘यो ज्यानमा त्यो गधाको रगत छ।’
झिम्केलाई यो अपमान र विभेदको पीडा असह्य हुन्छ। देउरालीमा आफैंले निर्माण गरेको मन्दिरमा गएर उनले आत्महत्या गर्छन्।
मरेपछि पनि सुख पाउँदैनन् उनले। दुनियाँको शव उठाउन अघि सर्ने उनकै शव अलपत्र पर्छ। तीनदिनसम्म शव अलपत्र पर्छ।
मामाको शव अलपत्र परेको देखेर कलिलो भाञ्जाले आफ्नी आमालाई सोध्छन्, ‘आमा, मामालाई किन कसैले नउठा’को?’
आमा भन्छिन्, ‘तेरो मामा सार्की हो। छुनु हुँदैन। गाउँबाट सबैले निकाल्छन्।’
छोराले पुनः सोध्छन्‚ ‘सार्की मान्छे होइन र?’
नाटकभित्र छोराले आमालाई त्यो घतलाग्दो प्रश्न सोधिरहँदा यो पंक्तिकारलाई कवि बिनोदविक्रम केसीको कविता‚ ‘कवाडखाना’को हरफको सम्झना आयो-
‘हाडमासु र खुन–खनिजले बनेको मान्छेलाई
सिसी, कागज र फलामको पिण्डमात्रै देखेपछि
मान्छेलाई मान्छे नदेखेपछि
तिमीपनि त मान्छे रहँदैनौ’
उनको यो कविताले मधेसीलाई काठमाडौं या सत्ताले हेर्ने आधारभूत र झुर दृष्टिकोणप्रति प्रहार गरेको थियो। दलितका हकमा पनि आजसम्म यो दृष्टिकोण उसैगरी जरा गाडेर बसिरहेको प्रदिप चौधरीले निर्देशन गरेको नाटक ‘झिम्के मामा’ले देखायो।
मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘झिम्के मामा’ले जातका कारण सदियौँदेखि अपमान र विभेद भोग्दै आइरहेका मान्छेको कथा भन्छ।
०००
कला बिटमा कलम चलाउने भएकाले यी पंक्तिकारको प्रायःकलाकारसँग भेट भइरहन्छ। त्यस्तै एकपल्ट लोकगायक प्रकाश सपुतसँग अन्तरवार्ताका क्रममा भेट हुँदा उनले दलित भएका कारण आफूले भोगेको विभेदको लामो कथा सुनाएका थिए।
गाउँमा त भोगेकै थिए, शिक्षित र आधुनिकहरू बस्ने मानिएको काठमाडौं शहरले समेत उनलाई त्यो भोगाइबाट मुक्त गराएन। झन् बल्झायो। जातकै कारण तीन ठाउँ डेरा सर्नुपर्यो।
नाटक ‘झिम्के मामा’ हेरिरहँदा प्रकाशले सुनाएका ती विभेदका कथा पनि सम्झनामा आए।
०००
अब फेरि नाटकतिर फर्कौं। नाटकले उठाएको कथा नयाँ होइन। वर्षौंदेखि सिनेमा, नाटक, गीतमार्फत उठिरहेका विषय नै हुन्।
फरक यत्ति हो, निर्देशक चौधरीले यसको निर्देशकीय प्रस्तुतिमार्फत फरक स्वाद पस्कने जमर्को गरेका छन्। तर नाटक हेर्दा ‘झिम्के मामा’को चरित्रलाई गाउँको ‘नायक’ स्थापित गर्न निर्देशकले बढी नै समय खर्चिएको महसुश हुन्छ।
नाटकमा जसरी झिम्केलाई गाउँको मुहार नै परिवर्तन गरेको पात्रका रुपमा चिनाइएको छ, दृश्यमा त्यो महसुश गराउन निर्देशकले गरेको मिहनेत कम लाग्छ।
नाटकका लागि गरिएको ‘सेट डिजाइन’ दर्शकलाई अल्मलाउने खालको छ। नाटकमा देउराली, मन्दिर र गाउँका घरहरूबीचको दुरी बढी छ। तर, ‘सेट डिजाइन’ले एउटै लोकेसनमा गफ गरिरहेको महसुश गराइदिन्छ।
नाटकको सुरुवाततिर देउरालीमा हुने गफगाफ लामो र ‘बोरिङ’ लाग्छ। चौतारामा हुने गफगाफले धेरैपल्ट कलाकारले पात्रको जीवन बाँचिरहेभन्दा पनि डायलग रटिरहेजस्तो महसुश गराउँछ।
नाटक हेर्दा ‘लाइट डिजाइन’मा पनि समस्या देखिन्छ। बिहान घाम उदाउने र साँझपख अस्ताउने बेलाको लाइट पक्कै एउटै हुँदैन।
नाटकमा अभिनेता अंकित खड्काले निर्वाह गरेको ‘झिम्के मामा’को चरित्रले दर्शकलाई ‘इन्गेज’ गराउँछ। नाटकको अन्त्यतिर उनको पात्रप्रति संवेदना पनि जगाउँछ। त्यो निर्देशकको सफलता हो। त्यस्तै टिकारामको चरित्रमा अनुप न्यौपाने औषत लाग्छन्।
समग्रमा ‘झिम्के मामा’ हाम्रै समाज वरपर देखिरहेको पात्रको कथा हो। दलितको मुद्दा उठान गर्ने यो नाटकलाई अझ कसिलो र गहकिलो बनाउन सकिने प्रशस्त ठाउँ त थिए, यद्यपि अभिनेता प्रदिपको यो निर्देशकीय प्रयास प्रशंसनीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।