काठमाडौं- नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेश शर्मा पोखरेलको निधन भएको छ।
८२ वर्षीय पोखरेलको सोमबार अपराह्न निधन भएको हो। पोखरेलको रुपन्देहीको पत्थरडाँडास्थित निवासमा निधन भएको हो। उनी क्यान्सर रोगका बिरामी थिए।
जन्मघर प्युठान भएका पोखरेलले विसं. २०२२ सालमा रुपन्देही बसाइसराई गरेको प्युठानका कांग्रेस जिल्ला सभापति अमरप्रसाद भण्डारीले जानकारी गराए।
२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थाविरुद्ध कू गरेपछि उनी जेल परेका थिए। उनलाई नेपालगञ्जमा जेलमा राखिएको थियो। जेलबाट छुटेसँगै उनी प्युठानबाट रुपन्देही सरेका थिए।
उनी नेपाली कांग्रेस रुपन्देहीको पूर्व सचिव समेत हुन्। कांग्रेसमा लागेर लाभको पदमा नपुगेका उनलाई गत निर्वाचनमा कांग्रेसले प्रदेश ५ मा समानुपातिक सांसद बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।