काठमाडौं– शिवमाया तुम्बाहाङफे एक राजनीतिक कार्यकर्ता, असल कम्युनिस्ट, सिद्धान्तप्रति इमान्दार र मार्क्सवादी आदर्शलाई आत्मसात गरेर राजनीति गर्ने राजनीतिकर्मी हुन्।
देशमा गणतन्त्र ल्याउन उनले आफ्नो ठाउँ र ओहोदाबाट जुन भूमिका निर्वाह गरिन् त्यो उनका पुरुष समकालीन राजनीतिकर्मीभन्दा कम थिएन र छैन पनि। नेतृत्व क्षमता नेकपाका अन्य पुरुष नेताभन्दा बरु बढी होला। तर, कमी छ त उनमा पुरुष जननेन्द्रीय। महिला हुनु उनको वर्तमान अयोग्यता हो। तसर्थ यही अयोग्यताका कारण सभामुख बन्ने उनको अभिलाषाले कारुणिक रुपमा 'मृत्युवरण' गर्न बाध्य हुनुपरेको छ।
१९७७ असार २५ गते अन्त्य भएको सतीप्रथाको आज पुनरुत्थानजस्तै भएको छ। तत्कालीन निरङ्कुश, क्रुर राणाशासक भनिएका चन्द्रशमशेर समेतले मानवीयता देखाएर बन्द गराएको सतीप्रथा आधुनिक युगको गणतान्त्रिक नायकमा पुनः आरम्भ हुनु बिडम्बना हो। नेपाली महिला अधिकार र आन्दोलनले यो दिनलाई सम्भवतः कालो दिन र भालेवादी अहंकारको बिम्बका रूपमा चित्रित गर्नेछ। राजनीतिमा महिलाकर्मीलाई निरुत्साहित गर्ने भद्दा नौटंकी र कुरूप दृश्य बनेर इतिहासमा अंकित हुनेछ। शिवमायालाई गरिएको अन्यायको शोधभर्ना कहिल्यै हुन सक्नेछैन।
मार्क्सवादी सौन्दर्य चेतनाले चन्द्रशमशेरको उदारताका अघि आफ्नो अस्तित्व नेपालका कम्युनिस्ट अनुहारमा खै कसरी हेर्छन् कुन्नि? महिला न्याय, समानता र समान अवसरको नारा सायद शिवमायाको हकमा एकपटक फेरि आत्मदाह गर्न बाध्य बन्यो।
म आज शिवमायाको अभौतिक शरीर अर्थात् ‘राजनीतिक योगदान’ लाई सती बनाएर चिता चढाएको जिउँदो मान्छेको अविच्युरी बनाईरहेको छु। शिवमायाको भौतिक शरीर जस्ताको तस्तै छ। तर, उनको राजनीतिक प्रखरता र तेज अनि सौर्यलाई कसरी खरानी बनाइयो त्यसको काल्पनिक चित्र शब्दमा उतारेर उनीप्रति सहानुभूतिसहित प्रेरणा दिने दुस्साहस हो, यो लेख।
खलनायकहरु जसले शिवमायाको अवमूल्यन गरे, तिनीहरुको लैंगिक दिवालिया सोच र निकृष्ट हर्कतलाई घृणा व्यक्त गर्ने महिला ध्वनि प्रतिध्वनित छ। पुरुषवाद आधुनिक जमानामा पनि कस्तो रुप र आचरण अनि विधि र विधानको पहिरन भिरेर लोकतान्त्रिक निर्णय भन्दै पद्दतिको बाटोबाट आउछ? कसरी एक महिलाको अस्तिव र राजनीतिक छविमा एम्बुस पड्काउन सफल हुन्छ भन्ने उदाहरण हो नेकपा सचिवालयको सर्वसम्मत निर्णयले अग्नि सापकोटालाई सभामुखको प्रत्यासी छनोट गर्नु। उपसभामुख शिवमायालाई किनारामा धकेल्नु र उपसभामुखबाट समेत गलहत्याइनु।
जसरी गल्हत्याउन घाँटीमा ‘भिसेप’ बनाएर हात पुर्याउनु पर्दैन, त्यसैगरी सतीका रुपमा जिउँदै चितामा जलाउन शंखनाद गर्दै आर्यघाट लैजानु पर्दैन। विभिन्न अवरोध, बहानाबाजी, राजनीतिक शक्ति सन्तुलन, आन्तरिक अप्ठ्यारा र बाध्यता बताएर पन्छाए पुग्छ। थरिथरिका तानाबाना बुनेर उपाय खोजेर गलहत्याए हुन्छ। भौतिक आक्रमणमा नै उत्रनु र आगो लगाउन जरुरी छैन।
पार्टी निर्णय र लोकतान्त्रिक विधि अवलम्बन गर्न भन्दै मुख्यमन्त्री बन्नबाट अष्टलक्ष्मी शाक्यलाई चुनावी प्रतिस्पर्धा गराएर अवैधानिक बनाइयो, त्यसैगरी अहिले शिवमायाको प्रसंगमा पनि नारी क्षमता र नेतृत्वलाई ‘अन्डरइस्टिमेट’ र ‘अन्डरमाइन्ड’ मात्रै गरिएन, पुरुष एकाधिकारवादको अहमले सूलीमै चढ्न विवश पारियो।
आधुनिक सतीप्रथा : दृश्य नं १
पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा राजीनामा दिएर जेल गए। उनी जेल गए पनि उपसभामुख शिवमाया संसद्को नेता छन्। अब उनलाई नै भावी सभामुखको रुपमा सबैले बुझे। उपसभामुख सभामुखको अभावकै खातिर कल्पना गरिएको पद हो। सम्भवतः उनको ब्रम्हले पनि यही स्वीकार गर्यो। उपसभामुख बनाउने पार्टीले सभामुख पक्कै बनाउँछ, घात गर्दैन।
महरा आफ्नै कारण फसे वा फसाइएको हो वा होइन? तर, महराको गल्तिको सजाय शिवमायाले बहन गर्नु पर्दैन। न्यायशास्त्र र विधिशास्त्रको आँखाले यसै भन्छ।
राजनीतिशास्त्र कि विद्यावारिधी, अनुसन्धानदाता, कानुनमा पनि उच्च शिक्षा प्राप्त, वकालत गरेको अनुभव, विद्यार्थीकालदेखि अहिलेसम्म अनवरत रुपमा राजनीतिमा, विद्यार्थी संगठन अनेरास्ववियुकी उपाध्यक्ष, मोरङ जिल्ला तत्कालीन एमाले इन्चार्ज, नेकपा एमालेको निर्वाचित केन्द्रीय सदस्य, प्राध्यापन पेशादेखि विभिन्न गैरसरकारी संस्थाको नेतृत्व लिएर काम गरेको क्षमता, सबै पृष्टभूमि र योग्यता सभामुख हुन काफी छन्।
उनी ढुक्क थिइन्, पक्कै सभामुख हुन पार्टीले योग्य देख्नेछ। राजनीति न हो यसैबीच अनेकन खिचडी पाके, सभामुख पूर्वमाओवादीको भागको भनियो। ओली शिवमायाको पक्षमा नै छन्, उनकै भरोसाले शिवमाया अडिएकी हुन् भनियो। पूर्वएमालेबाट सुवास नेम्वाङको नाम चर्चामा ल्याइयो। पूर्वमाओवादीबाट पम्फा भुसालको पनि सम्भावनाको बजार हल्ला सुनियो। राष्ट्रपतिको गुप्त धाप र आशिर्वाद छ शिवमायालाई। यी यावत प्रसंग चल्दाचल्दै उनलाई क्रमशः छायाँमा पार्नेगरी चलखेल र गतिविधि हुन थाले।
पार्टीले राजीनामाका लागि दबाब दिन थाल्यो। शिवमाया टसमस भइनन्। पार्टी सचिवालयले निर्णय नै गरेर राजीनामा माग्ने र सभामुखको उम्मेदवार अर्कै खोज्ने प्रपञ्च गर्यो। तर, शिवमाया आफ्नो अडानबाट पछि हटिनन्। बरु सभामुख पार्टीले टुंग्याएपछि राजीनामा दिने तर संसदको नेतृत्व भ्याकुममा राख्न मानिनन्।
उनको तर्क रह्यो उपसभामुख भएकै बेला पार्टीको सम्बद्धता छोडेको हुनाले आफूले संसदको कानुन अर्थात् संविधान चिन्ने तर पार्टीको निर्णय नचिन्ने दृढता लिईन। तर, संसदले सभामुख छान्ने प्रक्रिया नरोक्ने बरु पार्टीले सभामुखको उम्मेदवार तोकेपछि राजीनामा दिने र संसद चलाउन भूमिका खेल्ने ज्येष्ठ सदस्यमार्फत् राजीनामा दिएर संसद सहज बनाउने प्रतिबद्धता दोहोर्याएर बसिन्।
पार्टीमा अनेकन धारणा बने। शिवमायाको पक्ष विपक्षमा थुप्रै लबिइङ गरिए। तर, महिलाहरु जति र जसरी प्रस्तुत भएर पार्टी नेतृत्वलाई हाँक दिनुपर्थ्यो, त्यो सकेनन्। नेताहरुको हैकमी प्रभुत्वको विरोध गर्दा आफ्नो भाग र अवसर गुम्ने भयले महिला नेता र कार्यकर्ताहरुले खुलेर शिवमायाको पक्ष लिन सक्ने मनोविज्ञान तयार भएन।
भोलिको आफ्नो अवस्था र अवसरमा महिलाहरुले आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरे। निर्भयताका साथ बोल्न त के महिला ऐक्यबद्धता जनाउन सकेनन्।
लामो रस्साकसी, घम्साघम्सीपछि नेकपाले वैधानिक रुपमा आफ्नो उम्मेदवार अग्नि सापकोटालाई घोषणा गरेर शिवमायाको मात्रै होइन महिला सशक्तिकरण अभियानको राजनीतिक हुर्मत लियो। महिला, जनजाती र पहुँचविहीनप्रतिको आफ्नो नीतिको मुखुण्डो उघार्यो। राजनीतिक रुपमा शिवमायालाई सहिदमात्रै बनाएन महिलाको विकल्प महिला खडा गरेर महिलाप्रतिको सम्मान देखाउन चुक्यो।
समग्रमा आममहिलामाथिको दृष्टि दोष अभिव्यक्त भयो। पुस ४ मा सुरु भएको हिउँदे अधिवेशन नेकपाको अनिर्णयको बन्दी बनेर माघ ६ सम्म सर्दैसर्दै आइपुग्यो। आफ्नै पार्टीकी बफादार सिपाही महिला भएकै कारण अक्षम ठहर गर्दै अशोभनीय फैसला गरेर सतीप्रथाको नयाँ संस्करण निकाल्यो नेकपाले। यो नेतृत्वको लज्जाको विषय हो। २०३५ र ३६ देखि राजनीतिमा बगाएको पसिना, निष्ठा, श्रम र स्वाभिमान एकैपटक स्वाहा पारिदिने अविश्वसनीय राजनीतिको पराकाष्ठा पनि हो यो।
नयाँ संस्करणको सतीप्रथामा सती जान कसैकी श्रीमती नै हुनुपर्छ भन्ने छैन, केवल महिला भए पुग्छ। यो पितृसत्तात्मक समाजको कुरीतिको नवीन प्रयोग हो, जहाँ चर्को नारी अधिकार र समान अवसरको कुरा गरिन्छ। त्यहाँ यो आवरण र भेषमा नारी अस्मिताको खिल्ली उडाइन्छ, क्षमताहीन पात्र भनेर अवमुल्यन गरिन्छ।
मानवताको पक्षमा सबभन्दा ठूलो र साहसिक निर्णय गर्ने चन्द्रशमशेरको त्यो छातीको अघिल्तिर हाम्रा नेताहरुको सतीप्रथालाई फरक ढंगले ब्युझाउँने कायरतालाई कुन शब्द र उपमाले पुकारौं। यो इतिहासले निर्ममतापूर्वक समीक्षा गर्नेछ। यतिबेला ‘धिक्कार त्यो मानवचोला’ भन्नमात्र सकियो।
दृश्य नं. २
लोकतन्त्रमा कुनै पनि निर्णय, विचार, समूह, सोच र शैली अनि कीर्ति निर्विकल्प र अप्रश्नीय मानिन्न। तर यहाँ विधिको विधानलाई नै जबर्जस्त अग्निमा चढाइयो, खरानी धुलो बनाइयो।
सतीले श्राप दिएपछि श्रापितको दैवी या प्राकृतिक विपत्तिमा परेर सर्वनाश हुन्छ भन्ने आहान छ त्यो दुर्भाग्य सतीको शरीरमा ढुंगा हान्नेको पनि टरेर जाओस्। यो पर्दा पछाडि पनि थुप्रै पात्र, विधान र चरित्रले आ–आफ्नो भूमिका निभाएका छन्, हुन् सक्छ। सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान लत्याएको र मिचेकाले नेकपा यो संकटको दलदलमा फसेको पो हो कि? जटिल परिस्थितिको निर्माण दैवी न्यायअनुसार भएको कुरा पनि धार्मिक र आध्यात्मिक दर्शन र चिन्तनमा विश्वास गर्नेहरु व्यक्त गर्छन्। परिणाम अरु थुप्रै प्रकट हुनेमा राजनीतिशास्त्रीहरुको आफ्नै मत छ त्यो समयक्रमले पुष्टि गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।