जनकपुर- जनकपुरसहित सम्पूर्ण मिथिलञ्चलमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ। सूर्य मकर राशिमा प्रवेश गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ।
यस दिनलाई माघे सङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ। प्रदेश २ सरकारले तिला सङ्क्रान्तिको अवसरमा माघ आज सार्वजनिक बिदा दिएकाे छ।
यस पर्वमा परिवारका अग्रज र आमा–बाबुबाट आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई बुढेसकालमा सेवा गर्नुपर्ने बचन सन्तानबाट लिने गरिन्छ। खिचडी, तील र च्यूराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ।
मिथिलाञ्चलमा मनाइने प्रत्येक पर्वमा बेग्लाबेग्लै लोककलाको प्रदर्शनी र चित्रांकन गर्ने कार्य अन्तर्गत माघे सङ्क्रान्तिका दिन बिहानै भक्तजनले चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै श्रृङ्गार गर्छन्।
कतिपयले बिहान स्नान गरेर भगवतीको उपासना पनि गर्छन् भने कतिपयले भगवतीको प्रतिमामा तेल, चामल, सख्खर चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने गर्दछन्। मान्यजनबाट तिल र चामल लिएर उनीहरुप्रति श्रद्धा तथा आस्थाको भावना प्रकट गरिन्छ।
धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाइ, फलफूल र तिलको लड्डु चढाई खिचडीको भोग लगाइन्छ।
याे पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई 'खिचडी पर्व' पनि भनिन्छ। यो पर्वमा ब्राह्मण भोजनको व्यवस्था गरी ब्राह्मण दानका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ।
याे पर्वमा तिल र च्युराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई ‘तिलवा च्युरा’ पनि भन्ने चलन छ। यसबाहेक चामल, खिचडीका सामग्रीहरु मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घ्यू र दही दान गरिन्छ।
मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ। खिचडीमा घ्यू अनिवार्यरुपमा हालिन्छ। मैथिली भाषाको अर्को उखान अनुसार 'खिचडी के चार यार, पापड, दही, घिव, अचार।’ खिचडीको साथमा पापड, दही, घ्यू तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ।
कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन्। उक्त दान पितृ र आफ्ना लागि गर्ने परम्परा छ।
महिलाका लागि ‘तिला सङ्क्रान्ति’ पर्वको अझ बढी महत्वको छ। यसै दिनदेखि कन्याहरु सुयोग्य वर प्राप्तिको कामनाले ‘तुसारी पर्व’ प्रारम्भ गर्छन् भने विवाहित महिला ‘पृथ्वी पर्व’ प्रारम्भ गर्छन्।
नवविवाहित दुलहाको घरबाट दुलहीको घरमा यस पर्वमा तिल वा च्युराको कोसेलीका साथै जाडोमा लगाउने वस्त्र आउने परम्परा रहिआएको छ। याे चलनलाई मैथिलीमा ‘जडाउर’ भनिन्छ।
यसबाट दुई परिवारबीच पारस्परिक सहयोग एवं सद्भाव वृद्धि हुने गरे मान्यता छ। आयू, आरोग्य, रूप र गुण अभिवृद्धिको प्रतीक भएर प्रत्येक वर्ष आउने तिला सङ्क्रान्ति पर्व हर्षोल्लासको वातावरणमा सम्पन्न हुन्छ। धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरु गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घ्यू खिचडी खान्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।