धनगढी– पुसको अन्तिम दिन मंगलबार गाउँ–गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी औपचारिक रुपमा सुरु भएको छ। तर सबै थारु समुदायका मानिसले सुँगुर खाँदैनन्। सुँगुर खानेहरुलाई सुग्राहा र नखानेलाई महर्षिया भन्ने गरिन्छ। सुँगुर काटेपछि सुग्राहरूको माघी सुरु भएको हो।
थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन्। माघ महिना लागेसँगै थारु संवत २६४३ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुने छ। पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा छ।
यति गरिसकेपछि मान्यजनसँग आशिर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुल लगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका अगुवा बताउँछन्। ‘बिहानै नुहाएर आइसकेपछि उनीहरुको सम्मानस्वरुप डेउराहार (देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा) मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्न राखिएको हुन्छ,,’ थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरी भन्छन्, ‘त्यसलाई सबैभन्दा पहिले ३/३ वा ५/५ अञ्जुली सबै वस्तु अलग–अलग छुट्याउने गरिन्छ।’
यसरी छुट्याएको भागलाई निस्राउ भनिन्छ। त्यो भाग सके त्यही दिन नसके अन्य कुनै दिन विवाहिता छोरीलाई उनीहरुलाई दिइने र यसबाट छोरी र माइतीबीच सद्भाव कायम हुने उनले बताए।
थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै बिताउँछन्। दिउँसोभरि आर्शिवाद थाप्ने र मिठो मसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ। माघ महिनासँगै नयाँ आर्थिक वर्ष सुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समीक्षासँगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकी/चौकीदार) को जिम्मेवारी हेरफेरमा जुट्ने गर्छन्।
माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तरता दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ। पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्दतिद्वारा अनुमोदन गर्ने चलनसमेत थारु समुदायमा छ। गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु कल्याणकारिणी सभाका कार्यबाहक सभापति माधव चौधरीले बताए।
थारुहरुको घरभित्र भने छोराछोरीको बिहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनि छलफल हुने गरेको छ। विगतमा थारु समुदायमा रहेको कमैया/कमलरी राख्ने कुप्रथा पूर्ण रुपमा हटेको छ । भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यी विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान।
थारु समुदायले पुस मसान्तदेखि माघ पहिलो सातासम्म यी सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरु काममा फर्किने गरेका छन्। काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसँग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।