राजविराज– काेशी मेला आजदेखि सुरु भएकाे छ। सप्तकोशी नदीमा स्नान तथा नदी किनारमा खानपिन गरी रमाइलाे गरिने कोशी मेला बिहानैदेखि सुरु भएको हाे।
विशेष गरी भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा भक्तजनकाे भीड लागेकाे छ।
सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेक चारपांग्रे गाडीको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी नै घुइँचो हुन्छ। कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो छ।
ओद्राहा तथा कोशी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पूर्णीया, लौकही, मधुवनीलगायतका जिल्लाबाट समेत कोशी स्नान गर्न हजारौं सर्वसाधारण आउँछन्। कृषि मेलाको रुपमासमेत चिनिने कोशी मेलामा कृषि औजारका साथै घरेलु औजार (हस्त निर्मित सामग्री)हरुको खरिद बिक्री हुने गरेको छ।

पुस महिनाको शुक्ल पूर्णीमाकाे दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ। यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचाखो खाने चलन छ। मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाईहरु खाने प्रचलन छ।
कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहेको स्थानीय बुढापाकाहरु बताउँछन्।
यसैबीच पर्व मनाउन पाँच स्थानीय तहमा सार्वजनिक विदा दिइएकाे छ। पूर्णाीमा पर्व मनाउन सप्तरीका १८ मध्ये ५ स्थानीय तहमा सार्वजनिक विदा दिइएकाे छ। जिल्लाको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा रुपनी र छिन्नमस्ता गाउँपालिकामा सार्वजनिक विदा दिइएकाे हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।