एजेन्सी- विश्वमा सडक दुर्घटनामा वृद्धि भएको तर सडक दुर्घटनाबाट हुने मृत्यु दरमा भने कमी आएको विश्वमा घाइते तथा मृत्यु विश्लेषण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तथ्याङ्कको पूर्णताका हिसाबले सन् २०१७ लाई पछिल्लो नमूना वर्ष बनाइएको स्वास्थ्य तथ्याङ्क तथा मुल्याङ्कन (आईएचएमई)ले जनाएको छ। संस्थाका अनुसार विश्वमा सडक दुर्घटनाका कारण उक्त वर्ष १२ लाख व्यक्तिको मृत्यु भएको थियो भने ५ करोड ४० लाख व्यक्ति घाइते भएका थिए।
बिहीबार सार्वजनिक अध्ययनका अनुसार दुर्घटनामा घाइते हुने पुरूष २५–२९ वर्ष उमेर समूहका रहेका छन्। तर, सडक दुर्घटनामा सोही उमेरका महिलाको मृत्युदर पुरूषको तुलनामा दोब्बर रहेको पनि तथ्याङ्कले देखाएको छ।
सन् १९९० पछि विश्वमा कार दुर्घटनामा कारण ज्यान गुमाउनेको सङ्ख्या पहिलेको तुलनामा घटेको पाइएको छ। तर, खासगरी मध्य अफ्रिकी गणतन्त्र, जमैका, सोमालिया, स्वाजिल्याण्ड र संयुक्त अरब ईमिरेट्स (यूएई)मा भने यो सङ्ख्यामा वृद्धि भएको छ ।
'सवारी साधनमा गरिएको सुरक्षा व्यवस्था, सडक सुरक्षा, गति नियन्त्रण, सीटवेल्ट र मादक पदार्थ सेवनमा विश्वभर गरिएको कडाइ लगायतका केही कारणले विश्वमा सडक दुर्घटनाबाट हुने मृत्यु दरलाई कम गर्न योगदान पुर्याएको देखिन्छ,' आईएचएमईका वरिष्ठ लेखक स्पेन्सर जेम्सले भने, 'पछिल्ला तीन दशकमा विश्वव्यापीरूपमा सडक दुर्घटनाका कारण हुने मृत्यु सङ्ख्यामा सुधार देखिएको छ । यद्यपि सडक दुर्घटनामा चोटपटक रोकथामका लागि अझै प्रयाप्त प्रगति भएको भने मान्न सकिँदैन। थप सुधार गर्ने ठाउँहरू व्यापक रहेका छन्।'
विश्वव्यापी रूपमा सबै उमेर समूहमा सडक दुर्घटनाबाट हुने चोटपटकमा सन् १९९० देखि २०१७ को बीचमा १५ प्रतिशतभन्दा बढी रहेको छ। बिएमजे इन्ज्वेरी प्रिभेन्सन पत्रिकामा प्रकाशित आईएचआईको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट हुने घाइतेको सङ्ख्यामा सबैभन्दा बढी हाइटीमा १५.६ प्रतिशत रहेको छ भने दोस्रोमा मध्य अफ्रिकामा १०.४ प्रतिशत र तेस्रोमा अल साल्भाडोरमा ७.३ प्रतिशत रहेको देखिएको छ।
त्यस्तै विश्वमा सडक दुर्घटनाबाट सबैभन्दा बढी ज्यान गुमाउने नागरिक चिनियाँ रहेका र सन् २०१७ मा त्यहाँ कुल दुई लाख ६१ हजार व्यक्तिले ज्यान गुमाएका थिए। तर, प्रतिव्यक्ति सडक दुर्घटना दर भने चीनमा कम रहेको देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।