एजेन्सी- फिल्म अभिनेत्री दीपिका पादुकोण मंगलबार साँझ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय पुगेर नकाबधारी समूहको आक्रमणमा घाइते भएका विद्यार्थीप्रति सर्मथन जनाइन्। केही समय घाइते विद्यार्थीका बीच बिताइन्। उनी त्यहाँ पुगेपछि प्रशंसा र विवाद दुवैमा परेकी छन्। दीपिका जेएनयु पुगेपछि उनको १० जनवरीमा रिलिज हुन लागेको फिल्म ‘छपाक’ लाई बहिस्कार गरौं’ सामाजिक सञ्जाल ट्वीटरमा ट्रेन्डिङमा परेको थियो। त्यस्तै अधिकांश ट्वीटर प्रयोगकर्ताहरुले दीपिकाको सर्मथन पनि गरेका छन्।
‘छपाक’ बाटै उनले फिल्म निर्माणमा कदम राख्दैछिन्। यो एक एसिडपीडित युवतीको कथा हो, जसलाई मेघना गुलजारले निर्देशन गरेकी हुन्।
अहिले ‘छपाक’ को शीर्ष गीत ट्रेन्डिङ्गमा छ। अरिजीत सिंहको आवाज रहेको यो गितमा दीपिका अर्थात मालतीको पुरै यात्रा देखाइएको छ। ‘छपाक’ को प्रमोशनमा जुटेकी उनी त्यसैका लागि जेएनयुको आन्दोलनमा विद्यार्थीलाई साथ दिन पुगेकी हुन्।
दीपिका यसरी विवादमा परेको यो पहिलो घटना होइन। २ वर्ष पहिले फिल्म ‘पद्मावत’ रिलिजका बेला पनि उनी विवादको शिखरमा पुगेकी थिइन्। २०१८ मा सबैभन्दा विवादित फिल्मको रुपमा ‘पद्मावत’ चर्चामा आएको थियो। सञ्जयलीला भन्सालीको ‘पद्मावत’ निर्माण समयदेखि नै विवादमा परेको थियो। यही कारण यो फिल्मको नाम ‘पद्मावती’ बाट ‘पद्मावत’ भएको थियो। विवाद यतिसम्म भयो कि अभिनेत्री दीपिकाको नाक काट्ने धम्कीसम्मका आए। कैयौं राज्यमा यो फिल्म प्रदर्शन गर्न दिइएन।
बलिउडकी ‘मस्तानी गर्ल’ दीपिका पादुकोण हाल फिल्म उद्योगकै चर्चित नाम हो। त्यसैले उनको नाममा समर्थन र विवादमा भीड जम्मा हुने गरेको छ। उनको जन्म ५ जनवरी १९८६ मा डेनमार्कमा भएको थियो। उनी प्रख्यात ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुन्।
फिल्म ‘छपाक’ मा दीपिका
आफ्नो बाबुको पहिचान पछ्याउँदै उनी केही समय खेलकुदमा सक्रिय भएकी थिइन्। उनले राज्यस्तरको ब्याडमिन्टन प्रतियोगितामा पनि भाग लिइन्। दीपिकाकी एक बहिनी पनि छिन्। उनी व्यावसायिक गल्फर हुन्। उनले अन्तर्राष्ट्रियस्तरमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्। दीपिकाभन्दा पाँच वर्ष कान्छी अनीशा बलिउडमा आउन चाहँदिनन्। २ वर्षअघि इन्डिया टुडेलाई दिएको एक अन्तर्वार्तामा दीपिकाले आफू विद्यालयमा धेरै चकचके रहेको बताएकी थिइन्। दीपिकाले आफ्नो पढाई सोफिया हाईस्कुलमा गरेकी थिइन्। उनले स्नातकको शिक्षा भने माउन्ट कार्मेल कलेजबाट लिएकी थिइन्।
सधैं मोडलिङ्गमा सौखिन उनी सुरुमा यही पेशामा सोख पुरा गर्न लागेकी थिइन्। उनले केही विज्ञापनमा काम गरेकी थिइन्। २००६मा उनलाई फिल्मका लागि प्रस्ताव आयो। ‘ऐश्वर्या’ नामक एक कन्नड फिल्ममा उनले अभिनय गरिन्। यो फिल्म चर्चित भयो।
२००७मा फराह खानको नजरमा दीपिका परिन्। फराहले दीपिकालाई लिएर ‘ओम शान्ति ओम’ बनाइन् । शाहरुख खानसँग जोडी बनेको यो फिल्मपछि दीपिकाले पछाडी फर्केर हेर्नुपरेन यो फिल्म हिट भएलगत्तै उनको चर्चा बलिउडमा सुरु भयो। लगत्तै उनको रणवीर कपुरसँगको प्रेम पनि सार्वजनिक भयो। उनले आफ्नो गर्धनमा रणवीरको टाटु खोपेको विषय पनि चर्चित भयो। केही समयपछि रणवीर र दीपिकाबीच खटपट आयो। उनीहरु एक अर्काबाट टाढा भए। यो प्रेम टुटेपछि दीपिका डिप्रेसनमा गइन्।
उनले यसबाट बँच्न खुलेर यसबारे छलफल गर्न थालिन्। विश्व मानसिक स्वास्थ्य दिवसका दिन उनले एक भिडियो पनि सार्वजनिक गरिन्। जसमार्फत् डिप्रेसनको समस्यालाई गम्भीरतापूर्वक लिन पनि सल्लाह दिइन्। उनले २०१४मा पनि आफू डिप्रेसनको शिकार भएको दाबी गरिन्।
दीपिकाले २०१८ नोभेम्बरमा नायक रणवीर सिंहसँग विवाह गरिन्। दुवै जना बलिउडमा जमिरहेका छन् । कबीर खानको निर्देशनमा बन्न लागेको फिल्म ८३ मा रणवीर सिंह क्रिकेटर कपिल देवको भूमिकामा देखिँदैछन् । उक्त फिल्ममा दीपिका कपिल देवकी पत्नी रोमी देवको भूमिकामा देखिँदैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।