काठमाडौं- बलिउड अभिनेता इरफान खान हाई न्यूरोएन्ड्रोक्राइन क्यान्सरको रोगबाट ग्रसित थिए। सन् २०१७को जुन महिनामा रोग पत्ता लाग्नेबित्तिकै उनी अमेरिकामा उपचार गराउन गएका थिए।
इरफानले आफ्नो अवस्थाबारे सामाजिक सञ्जालमा बेला बखत जानकारी गराइरहन्थे। र उनको परिवारले पनि समय समयमा स्वास्थ्यबारे अपडेट दिइरहन्थ्यो।
न्यूयोर्कमा लामो समय उपचार गराएपछि २०१९मा भारत फर्किएका उनले बहुप्रतिक्षित फिल्म 'अंग्रेजी मिडियम'को सुटिङ गरेका थिए। यस क्रममा इरफान आफ्नो रुटिन र डाक्टरको सल्लाहअनुसार औषधि लिइरहेका थिए।
हाल फिल्म 'अंग्रेजी मिडियम'को सुटिङ सकिइसकेको छ। इरफान दोस्रो फिल्मको सुटिङ पनि सुरु गर्ने सोचमा थिए।
तर बलिउड सञ्चारमाध्यमका अनुसार फेरि उनको स्वास्थ्यमा समस्या देखिएको छ। डाक्टरले हाल काम बन्द गर्न र बेड रेस्ट गर्न सल्लाह दिएका छन्। डाक्टरको सुझावपछि इरफानले आफू पूर्ण स्वस्थ नभएसम्म कुनै काम नगर्ने बताएका छन्।
इरफानको पारिवारिक स्रोतअनुसार उनले कम्तिमा ६ देखि ८ महिनासम्म आराम गर्नुपर्छ। यसपछि नै डाक्टरको सल्लाहअनुसार उनी काममा फर्कने छन्।
इरफान अहिले आफ्नो परिवारसँग दिन बिताइरहेका छन्। हालै उनले परिवारका साथ नयाँ वर्षको बिदा मनाएका थिए।
इरफान र करीना कपूर अभिनित फिल्म 'अंग्रेजी मिडियम' मार्च २०२०मा रिलिज हुँदैछ। फिल्म प्रमोसनको लागि इरफान त्यति सक्रिय भएर लाग्ने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।