वासिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा कोही पनि अमेरिकी घाइतेसमेत नभएको दाबी गरेका छन्। बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले दाबी गरेजस्तो कोही पनि अमेरिकीको मृत्यु नभएको बताएका हुन्।
'इरानी सैन्य बलले दर्जनभन्दा बढी ब्यालेस्टिक आक्रमण गरेको बताए पनि इराकमा रहेका अमेरिकी सेनाका २ शिबिरका कोही पनि अमेरिकी घाइते मात्रै पनि भएका छैनन्। तर इरानी आक्रमणबाट इरान र अमेरिकाबीचको द्वन्द्व भने बढाएको छ।'
'अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भउको छैन। हाम्रो तर्फ कसैको पनि मृत्यु भएको छैन। हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। हाम्रा सेनाका शिबिरमा केही क्षति मात्र भएको हो,' ट्रम्पले भनेका छन्।
पश्चिमी इराकको अल असद वायु सेना शिबिरमा इरानले कम्तीमा पनि ६ पटक मिसाइल आक्रमण गरेको अमेरिकी रक्षा स्रोतले जानकारी दिएको थियो। मंगलबार मात्रै पनि ट्रम्पले ट्विट गर्दै सबै ठीक रहेको उल्लेख गरेका थिए।
उता इरानले भने दर्जन बढी आक्रमण गरी कम्तीमा ८० अमेरिकी सैनिक मारेको दाबी गरेको थियो।
इरानका सर्वोच्च नेता अयातोल्ला अलि खामेनीले अमेरिकी सेनाविरुद्धको आक्रमण अमेरिकाको गालामा मुक्का थप्पड भएको बताएका थिए।
अमेरिकाले इरानका सैन्य कमान्डर सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच द्वन्द्व चुलिँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।