काठमाडौं– नेपालले चीनमा मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन आग्रह गरेको छ।
नेपालको १५ सय किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले त्यहाँ विपत्ति आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै पूर्वसूचना माग गरिएको हो।
चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसँग बुधबार सिंहदरबारमा भएको भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मौसमबारे पूर्वसूचना दिन आग्रह गरेका हुन्।
नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संरचनाको सुरक्षा गर्न सूचना जरुरी भएको पुनले बताए।
पूर्वसूचनाको अभावमा दुई वर्षअघि भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले गराए। ‘हाम्रा धेरै नदी चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौं’, मन्त्री पुनले भने, ‘बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ ।’
प्राकृतिक विपत्तिबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बँच्न बेलैमा सचेतता अपनाउन सकिने उनको भनाइ थियो। सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उनले त्यसमा सहकार्य जरुरी रहेको बताए।
‘हाम्रो विकासका पूर्वाधारको सुरक्षाका लागि चिनियाँ मौसमबारे पूर्वजानकारी चाहिन्छ,’ मन्त्री पुनले भने। नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको र भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेको भन्दै उनले पर्यटकीय दृष्टिले पनि मौसम पूर्वानुमानको महत्व बढी रहेको चर्चा गरे।
जवाफमा चिनियाँ टोलीको नेतृत्व गरेका त्यहाँको मौसम विभागका उपमहानिर्देशक युङ फेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न तयार रहेको प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।