केही समयअघिसम्म अभिनेताद्वय राजेश हमाल र भुवन केसीबीच स्वस्थ सम्बन्ध थिएन। राजेशलाई गरिने ‘महानायक’को सम्बोधनप्रति भुवनले गर्दै आएको टिप्पणीले यसको संकेत गर्थ्यो।
भुवन राजेशप्रति व्यंग्य गर्दै आफूलाई ‘महानायक’ नभनिएको रिस फेर्थे। ‘धेरै अवार्ड समारोहमा मलाई सुपरस्टार भनेर सम्बोधन गरिन्छ। सुपरस्टार भनेर अवार्ड दिनुभएको छ। खासमा सुपरस्टार भनेकै महानायक हो,’ उनले एकपल्ट भनेका थिए, ‘कतिपयलाई यी दुइटा शब्द फरक–फरक हो कि जस्तो लागेको छ। खासमा भाषा मात्र फरक हो, कुरा एउटै हो। कुनै कलाकारलाई महानायक अथवा सुपरस्टार भनिन्छ भने उसले त्यसलाई जिम्मेवारी र सम्मानको रुपमा वहन गर्नसक्नु पर्छ। सुपरस्टार भएपछि सुपरहिट फिल्म दिनु नितान्त आवश्यक हुन्छ। सुपरहिट फिल्मबिना कोही पनि महानायक हुन सक्दैन।’
उनले यसरी टिप्पणी गरिरहँदा बजारमा राजेशका फिल्म लगातार फ्लप भइरहेका थिए। उता भुवन भने आफूले राजेशभन्दा बढी हिट फिल्म दिएकाले ‘महानायक’को ट्यागका लागि आफू योग्य रहेको दाबी गर्थे।
यद्यपि राजेशले भने भुवनको टिप्पणीलाई लिएर कहिल्यै पनि प्रतिक्रिया जनाएनन्। तर, ‘महानायक’ ट्यागकै कारण यी दुवै अभिनेताबीच सम्बन्धमा दरार सिर्जना भइरहेकोबारे फिल्मवृत्त जानकार थियो।
फिल्मसम्बन्धी सार्वजनिक कार्यक्रममा यस्ता तर्कातर्कीले उनीहरूको बिग्रिएको सम्बन्ध पुष्टि गर्न झन बल पु-याउँथ्यो। तर, पछिल्ला केही कार्यक्रमले भने उनीहरूको दुश्मनी मित्रतामा परिणत भएको संकेत गरिरहेको छ।
गत शनिबार आयोजित ‘कामना फिल्म अवार्ड’मा राजेश र भुवन दुवै सँगसँगैमात्रै बसेनन्, कानेखुशी गर्दै कुराकानी पनि गरे। त्यसैगरी आईतबार आयोजित नेफ्टा फिल्म अवार्डको घोषणा कार्यक्रममा पनि दुवैले हात मिलाए, अंकमाल गरे अनि खुलेर कुराकानी पनि।
राजेशलाई ड्यासमा महानायक सम्बोधन गरेरै बोलाइयो, भुवनलाई भने कलाकारमात्रै। यद्यपी मिडियासामु दुवै मिलेरै प्रस्तुत भए। प्रश्न उठ्यो– 'के भुवन–राजेशको दुश्मनी गहिरो मित्रतामा परिणतहुँदै गइरहेको हो या यो दोस्ती देखावटीमात्रै?'
तस्बिर: योगप्रसाद विमली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।