काठमाडौं- अस्ट्रेलियाले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई नेपाल बसाइ अवधिभर ‘उच्च सतर्कता’ अपनाउन आग्रह गरेको छ।
नेपालले ‘भ्रमण वर्ष २०२०’ गर्नु केही दिनअघि जारी गरिएको ‘ट्राभल एडभाइजरी’ मा आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । अस्ट्रेलियाको विदेश मन्त्रालय अन्तर्गतको ‘स्मार्टट्राभलर डट जिओजभी डट एयू’ ले गत ९ डिसेम्बरमा उक्त एडभाइजरी जारी गरेको थियो जुन आउँदो ५/६ महिनासम्म कायम हुने छ।
नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि भन्दै पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितिमा मंगलबार सिड्नीमा र्याली निकालिएको थियो। नेपाली दूतावास र गैर आवासीय नेपाली संघ९एनआरएनए०ले आयोजना गरेको उक्त ¥यालीमा अधिकांश गैर आवासीय नेपाली सामेल थिए।
के छ एडभाइजरीमा?
एडभाइजरीमा राजनीतिक, समाजिक र स्वास्थ्य सुरक्षालाई आधार बनाइएको छ।
सुरक्षा
– काठमाडौंसहित नेपालभर साना स्तरका विस्फोटक आक्रमण भइरहन्छन्। राजनीतिक तनावका बेला यस्ता बिस्फोटन धेरै हुन्छन्। राजनीतिक अशान्ति भएका बेला सरकारी भवनको भ्रमण नगर्नू।
– कुनै बेला राजनीतिक प्रदर्शन र बन्दहडताल हुन्छ। यसले आवश्यक सेवामा अवरोध हुन सक्छ।
– पाकेटमारी र सानातिना चोरी सामान्यजस्तै हुन्छ। महिलाले एक्लै यात्रा नगर्नू।
– यात्री सशस्त्र समूहको लुटपाट र दूराचार पीडित भएका छन् जुन यौन दूराचारसम्म पनि हो।
– भूकम्प, बाढी र पहिरोजस्ता प्रकोप नेपालले भोगिरहन्छ। मुख्य आपतकालका लागि सधै तयार हुनू।
स्वास्थ्य
– काठमाडौंसहितका केही सहरमा उच्च खालको मौसमी हुस्सु र प्रदुषण भइराख्छ। श्वासप्रश्वासमा कुनै कठिनाइ हुनेबित्तिकै मेडिकल सुझाव लिनू।
– अल्टिच्युड सिकनेसको सम्भावना उच्च हुन्छ। यात्रा बिमा सुनिश्चित गर्नु।
– तराई, पहाडी जिल्ला र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मलेरियाको जोखिम छ।
– एचआइभी÷एड्स, रेबिजजस्ता रोगहरुको संक्रमणको जोखिम पनि छ।
– काठमाडौंबाहिर स्वास्थ्य सेवा सीमित छ। राम्रो सेवा हुने काठमाडौंका क्लिनिक पनि महंगा छन्।
एडभाइजरीले नेपाललाई पर्ने असर
अस्ट्रेलियाबाट बर्सेनि हजारौं पर्यटक नेपाल आउने गर्छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१७ मा ३३ हजार ३ सय ७१ र सन् २०१८ मा ३८ हजार ४ सय २९ पर्यटक अस्ट्रेलियाबाट आएका थिए। नेपलाले भ्रमण वर्ष मनाइरहेका बेला जारी भएको यस्तो एडभाइजरीले नेपालको पर्यटन प्रवद्धनमा असर पर्ने पर्यटन उद्धमीले बताएका छन्। ‘स्मार्टट्राभलर डट जिओजभी डट एयू’ ले प्रायः ५/६ महिनाको अवधिमा यस्ता एड्भाइजरी जारी गर्छ । नेपालमा अस्ट्रेलियाले भनेजस्तो सुरक्षा क्षेत्रमा तुलनात्मक सुधार नभए त्यसमा परिवर्तन हुने देखिँदैन। अघिल्लो एडभाइजरी भ्रमण वर्षको मध्यसम्म निरन्तर हुने देखिन्छ जसले सकेसम्म धेरै पर्यटन भित्र्याउने नेपालको योजनामा धक्का लाग्न सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।