एजेन्सी- अस्ट्रेलियामा लागेको आगलागीबाट २४ जनाको मृत्यु हुनाको साथै लाखौं जीवजन्तु मारिएका छन्। ७० करोडभन्दा बढी डलरको क्षति भएको प्रारम्भिक आँकलन छ। याे घटनामा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्नुपर्ने आवाज पनि उठिरहेकाे छ।
प्रहरीले न्यू साउथ वेल्समा डढेलो लगाएको आरोपमा अहिलेसम्म २४ जनालाई पक्राउ गरेको छ। जसलाई सोमबार थुनामुक्त गरिएको थियो।
न्यू साउथ वेल्स पुलिसले १ सय ८३ जनाविरुद्ध कारबाही सुरू गरेको छ। तीमध्ये ४० जनालाई आगोसम्बन्धी अभियाेग लगाइएको छ भने ५३ जनाविरुद्ध आगो लगाउन नपाइने स्थानमा जथाभावी आगो लगाएको आरोप छ। ४७ जनालाई जंगलमा जथाभावी चुरोटका ठुटा मिल्काएको आरोप छ।
आगलागीको सबैभन्दा बढी असर न्यू साउथ वेल्समा परेको छ।
कैयौं घरलाइ ध्वस्त बनाउँदै पछिल्ला केही महिनायता आगलागीले अस्ट्रेलियालाई ठूलो क्षति पुर्याएको छ।
डढेलोका कारण अहिलेसम्म करीब १ करोड ८० लाख एकड जमिन जलेर ध्वस्त भइसकेको छ। कयौं पार्क‚ जंगलहरुको विनाश भएका छन्। न्यू साउथ वेल्सको डढेलोका कारण करोडौं जीवजन्तुलाई प्रत्यक्ष असर परेको छ।
गत नोभेम्बरमा न्यू साउथ वेल्स रुरल फायर सर्भिसले १९ वर्षीय एक युवकलाई सो क्षेत्रमा आगो लगाएको आशंकामा पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।