डडेल्धुरा- चिसाे बढेपछि डडेल्धुरामा प्रहरीले विभिन्न ठाऊँमा आगो ताप्ने व्यवस्था मिलाएको छ।
हिमपातपछिको बर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएपछि प्रहरीले आगो ताप्ने व्यवस्था मिलाएकाे हाे। डडेल्धुरामा विपद् व्यवस्थापन समितिको पहलमा आगो ताप्ने व्यवस्था मिलाइकाे प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।
जिल्ला सदमुकामको अमरगढी–५ बसपार्क क्षेत्रका तीन ठाउँ, तुफानडाडाँ र अमरगढी–७ को रातोगुना चोकमा आगो बालेको सशस्त्र प्रहरी बल डडेल्धुराका प्रहरी प्रमुख भुवन पन्तले बताए। बढेको चिसोका कारण विपन्न परिवार, श्रमिकलगायतलाई समस्या भएपछि आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आगो ताप्ने व्यवस्था मिलाएपछि सर्वसाधारण र बटुवालाई समेत राहत पुगेको स्थानीय खेमराज पनेरुले बताए। जाडो अवधिभर डडेल्धुराका ठाउँठाउँमा ठुल्ठूला मुडा बालेर आगो ताप्ने व्यवस्था मिलाइने प्रहरीले जनाएको छ।
चिसो पढेपछि व्यापार व्यवसायमा पनि गिरावट आएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोजराज भट्टले बताए। ग्रामीण भेगबाट डडेल्धुरा आउन समस्या भएपछि व्यापारमा कमी आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।