तेहरान- अमेरिकी शहर न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जाने तयारीमा रहेका इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफलाई अमेरिकाले प्रवेषाज्ञा (भिषा) दिन अस्वीकार गरेको छ।
इरानी विदेशमन्त्री जरिफले बिहीबार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा हुने खुला बहसमा इरानको धारणा राख्न जाने कार्यक्रम रहेको थियो।
विदेशमन्त्री जरिफलाई उद्धृत गर्दै राष्ट्रसंघको सुरक्षा परिषद्मा सहभागीता जनाउनका लागि संयुक्त राज्य अमेरिकाले प्रवेषाज्ञा नदिएको विदेशमन्त्रीलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
सो निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ।
इरानी विदेशमन्त्रीले भने, ‘हामीलाई थाहा भएअनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिवलाई फोन गरी जरिफलाई प्रवेषाज्ञा दिन समयका कारण असम्भव देखिएकाले उनलाई प्रवेषाज्ञा नदिने बताइएको थियो।’
जवाफमा राष्ट्रसङ्घका महासचिवले बैठकमा भाग लिन पाउने इरानको अधिकार रहेको पोम्पेओलाई बताएको इरानी वरिष्ठ कूटनीतिज्ञलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था आइएसएनएले लेखेको छ।
यद्यपि जरिफको प्रवेषाज्ञा अस्वीकृत भएको बारे वासिङ्टनद्वारा आधिकारिक पुष्टि भएको भने छैन।
अमेरिकाले इराकको राजधानीमा ड्रोन आक्रमण गर्दा इरानी विशेष सुरक्षा बलका कमाण्डर जनरल कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिका र इरानबीच केही वर्षयता देखिँदै आएको तनाव थप बल्झिने देखिएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।