तेहरान- इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ।
यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल सुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो। उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ।
उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ।
दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गार्ड्सका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए।
शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए।
इरानी जनताबीच गार्ड्सको कुद्स बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानी इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।