टोकियो- जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्यपूर्वको भ्रमणमा जाने भएका छन्।
उनले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्यूनीकरणका लागि साउदी अरब, ओमन र युएईको भ्रमण गर्ने भएका छन्।
प्रधानमन्त्रीको पार्टी लिबरल डेमोक्रेटिक पार्टीका एक जना प्रवक्ताले आबे यही जनवरी १२ देखि जनवरी १५ सम्म मध्यपूर्वको भ्रमणमा जाने बताएका हुन्।
पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री आबेले भ्रमणको विस्तृत विवरण दिएको बताइएको छ। मध्यपूर्वमा सृजना भएको तनावका बारेमा आफूले गहिरो चासो राखेको प्रधानमन्त्रीले बैठकमा बताएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ।
उनले भने, ‘त्यस क्षेत्रमा शान्ति स्थापनाका लागि र स्थायित्वका लागि मैले कुटनीतिक पहलमार्फत केही योगदान दिन सक्छु भन्ने मैले विश्वास लिएको छु।’
वासिङ्टन र तेहरानबीचको सम्बन्ध सुधार्नका लागि मध्यस्थकर्ताको रुपमा प्रयास गरिरहेका आबेले ‘गहिरो चिन्ता’ व्यक्त गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ।
इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो।
मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो। यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ। जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ।
शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन्। चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।