ओखलढुङ्गा- सुनकोशी गाउँपालिका-३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी-३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ।
बा ६५ प ७४७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन्।
बल्खुबाट सिस्नेरी घरतर्फ फर्कंदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ। राति दुर्घटना भए पनि बिहानमात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। मगरको शवपरीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।