क्यानबेरा- विगत केही महिनादेखि अष्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि सरकारले दुई अर्ब अष्ट्रेलियाली डलर छुट्ट्याएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
सरकारले उक्त रकमलाई डढेलो प्रभावित किसान, साना उत्पादक तथा डढेलोका कारण मानसिकरूपमा प्रभावित नागरिकलाई आवश्यक कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराइने बताएका छन्।
डढेलोको खतरा अझै पनि कम नभएपछि अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा गत शुक्रबारदेखि एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ।
मोरिसनले भने‚ ‘हामीले डढेलोबाट प्रभावित यस राष्ट्रको उत्थान र भविष्यमा आवश्यक पर्ने सबै क्षेत्रमा लगानी गरी देशलाई थप व्यवस्थित गर्दै अघि बढ्नेछौं।’
अष्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म अनुमानित दुई दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ। भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेको बताइएको छ।
अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ। डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ। त्यस्तै डढेलोका कारण यहाँका जङ्गलमा ठूलो सङ्ख्यामा रहेका जनावरहरू मरेका छन् यद्यपि मारिएका जनावरबारे फरक फरक अनुमानहरू आएका छन्।
यसवर्ष अष्ट्रेलियामा अत्याधिक गर्मी महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अष्ट्रेलियाली अधिकारीहरूले बताएका छन्। पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।