राजविराज– सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेलगायतका १४ बुँदे मागसहित सप्तरीको छिन्नमस्ता गाउँपालिकामा धर्ना सुरु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छिन्नमस्ता संघर्ष समितिको अगुवाईमा आईतबारदेखि नै स्थानीय धर्नामा बसेका हुन्।
शीतलहरको चिसोमा पनि गाउँपालिकाले वृद्धवृद्धा, एकल महिला, अपांग, दलित तथा बालबालिकाको सामाजिक सुरक्षा भत्ता रोकेर राखेको र वितरण गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानीयको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य पदाधिकारीले काम गर्न नसक्दा हालसम्म गाउँसभा हुन नसकेको र सामाजिक सुरक्षा भत्तासहित सम्पूर्ण विकास गतिविधि ठप्प भएको नेकपाका जिल्ला कमिटी सदस्य जयप्रकाश यादवले आरोप लगाए। तत्काल गाउँसभा सम्पन्न गरी विकास निर्माणका काम सुरु गर्न र सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गर्न उनले माग गरेका छन् ।
संघर्ष समितिले वडा भेला पारदर्शी गर्नुपर्ने, आव ०७५÷०७६ को आयव्यय सार्वजनिक गर्नुपर्ने, कृषकलाई सुलभ रुपमा बीउ तथा मल वितरण गर्नुपर्ने, करार कर्मचारीको नियुक्ति प्रकृया सार्वजनिक गर्नुपर्ने तथा गरिब, भूमिहीन, दलित, अल्पसंख्यकका लागि विशेष योजना ल्याउन माग गरेको छ।
सामाजिक सुरक्षाा भत्ता रोकेर राखेको आरोपमा स्थानीयवासीले १५ पुसमा कार्यालय घेराउ र प्रदर्शन गरेका थिए। कार्यालय घेराबन्दी र प्रदर्शन गर्ने क्रममा रोक्न खोजेपछि आन्दोनकारी र प्रहरीबीच हातपातसमेत भएको थियो।
गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुडुर’ ले भने सामाजिक सुरक्षा भत्ताको बहानामा सुनियोजित रुपमा गाउँपालिकामा आन्दोलन गराइएको आरोप लगाउँदै आएका छन्। आन्तरिक समस्याका कारण हालसम्म गाउँसभा गर्न नसकिएको र पहिलो किस्ताको सामाजिक सुरक्षा भत्तासमेत रोकिएको स्वीकारेका उनले गाउँसभा सम्पन्न हुनासाथ सबै काम सुरु हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।