काठमाडौं– पछिल्ला केही संस्करणहरु लगातारमा हुँदै आइरहेको नेफ्टा फिल्म अवार्ड यसवर्ष नेपालमै हुने भएको छ। सरकारको ‘भिजिट नेपाल २०२०’ अभियानलाई समर्थन गर्र्दै आयोजक चलचित्र प्राविधिक संघले यसपटक दसौँ संस्करणको अवार्ड काठमाडौंको टुँडिखेलमा आयोजना गर्ने निर्णय गरेको हो।
छैटौं संस्करणबाट क्रमशः चार वर्ष यो अवार्ड मलेसिया, कतार, हङकङ र दुबईमा आयोजना भएको थियो। ‘राज्यले भ्रमण वर्ष मनाइरहँदा हामीले हाम्रै देशलाई प्रमोट गर्नुपर्छ भनेर यसपटक नेपाल नै रोजेका हौँ,’ चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने।
राजधानीमा सोमबार एक औपचारिक कार्यक्रमविच अवार्ड काठमाडौंमै गर्ने घोषणा गरिएको थियो। अवार्डका लागि यसपटक ड्रिम हाइ नेपालले सहकार्य गरेको कार्यक्रममा जानकारी दिइयो।
पछिल्ला दुइ वर्ष नेफ्टा अवार्ड आयोजना हुन सकिरहेको थिएन। ‘च्याउसरी अवार्ड कार्यक्रम आयोजना हुन थालेपछि ‘अवार्ड’ शब्दकै गरिमा घटिरहेका बेला हामीले अवार्ड गर्न सकेनौँ। यसपल्ट भिजिट नेपाल अभियानलाई सहयोग पु¥याउनुपर्छ भनेर पनि गर्ने निधो गरेका हौँ,’ अध्यक्ष लामाले भने।
यस अवार्डमा ३२ प्रतिस्पर्धी विधा रहेका छन् जसलाई जुरीले छनौट गर्नेछन्। तीन विधा पपुपर चलचित्र, पपुपर अभिनेता र पपुपर अभिनेत्री भने आयोजकले छनौट गर्ने कार्यक्रममा बताइयो।
त्यसैगरीबर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि कार्यक्रममा वितरण गरिनेछ।
अवार्ड घोषणा कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, महानायक राजेश हमाल, पहिलो नेपाली नायिका भुवन चन्द, हाँस्य अभिनेत्री बसुन्धरा भुषाल, निर्देशक तुलसी घिमिरे, सदाबहार अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती, सलोन बस्नेत,कलाकार सन्तोष पन्त, निर्मल शर्मा, रविन्द्र खड्का, अभिनेत्री नीता ढुङ्गाना, पवित्रा आचार्य, जेविका कार्की, रिस्ता बस्नेत, गायक आनन्द कार्की, युवराज चौलागाइँ लगायतको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।