बर्लिन- जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग छलफल गर्न आगामी शनिबार रूस जाने भएकी छन्।
‘मस्कोमा हुने भेटमा संयुक्त राज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका हेजबुल्लाह नेता अबु महदी अल मोहन्दिस र अन्य केही व्यक्तिको मृत्यु भएपछि परिवर्तित राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल हुनेछ,’ सोमबार जर्मन सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मर्केललाई भ्रमणमा विदेशमन्त्री हेइको मासले साथ दिनेछन्।
प्रवक्ता स्टेफेन सेइवर्टले भने, ‘भेटमा रूस र जर्मनीबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने तथा जर्मन-रूस ग्याँस पाइपलाइन आयोजनाबारे छलफल हुने कार्यक्रम छ। साथै इरान र इराकमा अमेरिकी ड्रोन आक्रमणपछि सिर्जना भएको राजनीतिक सङ्कट, सिरियाली द्वन्द्व र लिवियाली तनावलगायत विषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ।’ -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।