काठमाडौं– जनधनको व्यापक क्षति हुने गरि अस्ट्रेलियामा भइरहेको भीषण आगलागीप्रति नेपालले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार अस्ट्रेलियाका समकक्षीलाई समवेदना सन्देश पठाउँदै नेपालका तर्फबाट दुःख व्यक्त गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले सन्देशमा अस्ट्रेलियाको सरकार र त्यहाँका जनताले सामना गरिरहेको संकटप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा परेको असर चाँडै न्यूनीकरण गर्न सफल हुनेसमेत आशा व्यक्त गरेका छन् ।
लामो समयदेखि अस्ट्रेलियाका भिक्टोरिया र न्यू साउथवेल्स क्षेत्रमा भइरहेको भीषण आगलागीका कारण करौडौं पशुपंक्षीको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यसैबीच डढेलोले तहसनहस बनाएको क्षेत्रमा पानी पर्न थालेपछि क्षणिक रुपमै भए पनि राहत महसुस गरिएको छ। पानी परेसँगै तापक्रम पनि घटेको छ। तर त्यहाँका अधिकारीहरुले तापक्रम पुनः बढ्न सक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
सिड्नीदेखि मेलबर्नसम्म धमिलो वर्षा भइरहेको छ भने न्यू साउथवेल्स क्षेत्रमा मुसलधारे वर्षा भइरहेको बताइएको छ।
तर, अधिकारीहरुले आइतबार साँझ चेतावनी दिँदै बिहीबार तापक्रममा पुनः वृद्धि हुन सक्ने बताएका छन्। उनीहरुले भिक्टोरिया र न्यू साउथवेल्स क्षेत्रको आगलागीले ठूलो ज्वाला सिर्जना गर्न सक्ने पनि बताएका छन् ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।