रोल्पा- रोल्पाको बहुचर्चित जलजला क्षेत्रको व्यवस्थापनको विषयलाई लिएर प्रदेश तथासंघीय सरकारबीच द्वन्द सुरु भएको छ।
संघीय सरकारले संरक्षण क्षेत्रको रुपमा जलजलालाई अघि वढाउन सम्भाव्यता अध्ययन, साइट पोष्ट स्थापना र नेचुरल गाईडसम्बन्धी तालिम सञ्चालन गरेपछि दुई सरकारबीच विवाद सुरु भएको हो। संरक्षण क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार भई घोषणालगत्तै कार्यान्वयनको चरणमा जाँदै गर्दा अधिकार क्षेत्रको विषयलाई लिएर दुई तहका सरकारबीच द्वन्द्व देखिएको हो। यसले संरक्षण क्षेत्रको घोषणा कार्यक्रम नै अन्योलमा परेको छ।
संघीय सरकारमार्फत् प्रकृति संरक्षण कोषलाई जलजला क्षेत्र व्यवस्थापनको जिम्मेवारी दिने तयारी भईरहेको छ। त्यससँगै आउने आम्दानी पनि कोषकै हुने छ। संघीय सरकारअन्तर्गत रहे पनि प्रकृति संरक्षण कोष स्वायत्त संस्था हो। कोषलाई संरक्षणको जिम्मा दिने गरी संघीय सरकारले बढाएको कामकारबाही संघीयता विरोधी रहेको प्रदेश सरकारको टिप्पणी छ।
प्रदेशभित्र रहेका राष्ट्रिय वन क्षेत्रको संरक्षण गर्ने अधिकार प्रदेश सरकारलाई भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले बताए। ‘जलजला प्रदेश सरकारको सम्पत्ति हो’, मन्त्री गिरीले भने, ‘जलजलालाई कसरी समृद्ध बनाउने भन्ने कुरा प्रदेश सरकारको सरोकारको विषय हो। संविधानले तोकेको जिम्मेवारी सबैले पालना गर्नुपर्छ।’
प्रदेश ५ को आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पनि संविधानको अधिकार सूची बाँडफाडको व्यवस्थाअनुरुप जलजला प्रदेश सरकारको क्षेत्रभित्र पर्ने दाबी गरे। प्रदेश सरकारको अधिकारमाथि संघीय सरकारले हस्तक्षप गर्न खोज्नु राम्रो नभएको रोल्पा १(क)को प्रदेश सभा सदस्य समेत रहेका मन्त्री केसीको भनाई छ।
.jpg)
२०७३/०७४ को बजेट, नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले जलजलालाई संरक्षण क्षेत्रको रुपमा राखेको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रोल्पा शाखाका अध्यक्ष मनसिंह डाँगीले प्रदेशभित्र रहेका राष्ट्रिय वन क्षेत्र प्रदेश सरकार मातहतमा रहने गरि संरचनासमेत बनिसकेका बेला दुई तहका सरकारबीच विवाद हुनु जायज नभएको बताए।
‘संरक्षण क्षेत्रको नाममा आसपासका उपभोक्ताको प्राकृतिक स्रोतमाथिको अधिकार हनन गर्न हुँदैन’, अध्यक्ष डाँगीले भने।
भ्रमण वर्ष २०२० लक्षित गरी सरकारले निर्धारण गरेको एक सय गन्तव्यमा जलजलालाई पनि सूचीकृत गरिएको छ। गत वैशाख ४ गते ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले जलजला गन्तव्यको शुभारम्भ गरेका थिए। जलजला क्षेत्रलाई साहित्यमार्फत् चिनाउने भन्दै रोल्पा नगरपालिकाले अघिल्लो वर्ष रोल्पा गुराँस साहित्य मेला आयोजना गरेको थियो। वैशाख १५ देखि ३ दिनसम्म चलेको मेलामा पैदलयात्रा गरि जलजलामा रचना वाचन गरेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए।


कसरी पुग्न सकिन्छ जलजला?
जलजला पुग्न चार वटा मार्गको प्रयोग गरिँदै आएको छ। थवाङसम्मको गाडी यात्रापछि करिब ३ घण्टाको पैदलयात्रा गरि जलजला पुगिन्छ। यसैगरी सुलिचौर, फुलिवन, उवा हँुदै थवाङको माघे खर्कबाट पनि पैदलयात्रा गरि जलजला पुग्न सकिन्छ। सुलिचौर, जेल्वाङ हँुदै जलजला पुग्ने अर्को पदमार्गसमेत छ। सदरमुकाम लिबाङवाट धवाङ, पेवा हँुदै जलजला पुग्ने अर्को पैदल मार्गसमेत छ। पर्यटनको राम्रो सम्भावना रहेको जलजला क्षेत्र व्यवस्थापनको विषयमा प्रदेश र संघीय सरकारबीच भएको रस्साकसीले कार्यक्रम नै अलपत्र पर्ने हो कि भन्ने स्थानीयको चिन्ता छ। स्थानीय समुदायको समेत अर्थपूर्ण सहभागिता हुने गरि संरक्षण क्षेत्रको जिम्मेवारी दिनुपर्ने डिभिजन वन अधिकृत दधिलाल कँडेलको भनाइ छ।
संघीय सरकारले प्रकृति संरक्षण कोषमार्फत् जलजलाको सर्वेक्षण गर्ने तथा साईन पोष्टिङ राख्ने काम गरेको छ। कोषकै आयोजनामा ७ दिने नेचुरल गाईडसम्बन्धी तालिम पनि सम्पन्न भईसकेको छ। जलजलालाई लक्षित गरेर संघीय सरकारले लिवाङ–जलजला सडक निर्माणको काम समेत थालिसकेको छ। उक्त सडकले जलजलाको सौन्दर्य नष्ट गर्ने जलजला नेचुरल गाईडको तालिम लिएका रोल्पा नगरपालिका १० का शुकलाल रोकाले बताए। ‘सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ हाम्रो माग जलजलाको आधार शिविर घामतापासम्म मात्रै सडक लैजानु पर्छ भन्ने हो तर जलजलासम्म सडक लैजाने गरि काम थालनी भएको देखिन्छ’, रोकाले भने।
.jpg)
३ हजार १ सय ७२ मिटर उचाइमा रहेको घाँसे मैदानी, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको हो। दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकाले दलदलेबाट जलजला भएको बताइन्छ। चरन क्षेत्रको रुपमा रहेको जलजलालाई पशुपालनका लागि राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा लिने गरिन्छ। सो क्षेत्रको वन्यजन्तु, गैरकाष्ट वनपैदावरको संरक्षण तथा भूसंरक्षणलाई समेत मध्यनजर गर्दै २०५५ देखि तत्कालीन विद्रोही माओवादीको पहल र स्थानीय समुदायको सहभागितामा चरिचरन बन्द गरिएको थवाङका ऋषिकेशव बुढाले जानकारी दिए।
सिस्ने, पुथा, धवलागिरी, नीलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिम चुचुराको मनोरम दृश्य एकैपटक अवलोकन गर्न सकिने सो क्षेत्रलाई प्रकृतिको वरदानको रुपमा लिने गरिन्छ। थार, घोरल, मृग, बँदेल, भालु, चितुवा, बाघ, कस्तुरी, रातो पाण्डा, डाँफे, मुनाल, कालिजलगायतका वन्यजन्तु पाईने सो क्षेत्रमा पाँच औले, विषमा, अतिस, कुठ, सतुवा, निरमसी, पाषणवेद, सुगन्धवाल, चिराईतो लगायतका जडीबुटीसमेत पाईन्छ। समुन्द्री सतहबाट ३ हजार २ सय ६६ मिटर उचाइमा रहेको जलजलाको चुचुरोका रुपमा रहेको धरमपानी भने ३६०० मिटरको उचाइमा छ। सदरमुकाम लिवाङवाट समेत देखिने धरमपानीको चुचुरालाई नै धेरैले जलजला ठान्ने गर्छन्। यहाँ माओवादी जनयुद्धका शहिदहरूको सम्झनामा ५ कुने शहिद स्मृति स्तम्भसमेत निर्माण गरिएको छ।
जलजलाबाट सूर्योदयको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। राष्ट्रकै सम्पदाको रुपमा रहेको जलजला क्षेत्र चैतदेखि भदौसम्म रंगीबिरंगी फूलले प्राकृतिक फुलबारी झैं देखिन्छ। दर्जनौ प्रजातीका गुराँस, गन्धव, हाङव रथविरथ, पातव, विन्जेरीव, धस्किनि जिलाव लगायतका फूल चैतदेखि भदौसम्म फुलिरहन्छन् भने हिउँदमा पर्ने सेताम्य हिउँले जलजलाको आकृति नै परिवर्तन हुने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।