काठमाडौ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई नकारात्मक दृष्टिकोणबाट प्रस्तुत नगरिदिन आग्रह गरेका छन्।
खनालले दीर्घकालीन असर छोड्ने र समाजमा सकारात्मक सन्देश छाड्ने फिल्महरु निर्माण गर्न आग्रह गरेका छन्। नेफ्टा फिल्म अवार्ड कार्यक्रमको उद्घाटन गदैै प्रहरी महानिरिक्षक खनालले फिल्मकर्मीहरुलाई यस्तो आग्रह गरेका हुन्।
‘समाज विकासका लागि यहाँहरुको ठुलो भुमिका हुन्छ, फिल्ममा आइजिपी वा प्रहरी अधिकारीको रोल सँधै नकारात्मक सन्देशमात्र किन देखाइन्छ?’ उनले भने ‘कहिलेकाहिँ सकारात्मक पनि देखाउने प्रयास गरौं न के हुन्छ?’
‘एकछिन रमाउनमात्र नभई दीर्घकालीन छाप छोड्ने फिल्म बनाउन म आग्रह गर्दछु।’ उनले भने।
‘कलाकारिता क्षेत्र त्यस्तो क्षेत्र हो जसले समाजलाई छिटो प्रभाव पार्न सक्छ’ उनले भने ‘त्यसैले आलोचनात्मक हुनुस् तर समाजलाई प्रहरीप्रति विश्वास कायम रहने गरी।’
सिर्जनात्मक फिल्म निर्माणमा आफुले अवरोध गर्न नखोजेको भन्दै उनले प्रहरीभित्र रहेका गलत कामका बारेमा कलाकारिताबाट जुनसकै रुपमा आलोचना गर्न सक्ने उनले बताए।
‘हाम्रो गल्ती छ भने सुधार गर्नै पर्छ’ उनले भने‚ ‘राम्रा कुरा छन् भने त्यसलाई देखाउनै पर्छ।’ हामी सुध्रनुपर्ने ठाउँ भए तपाईहरुले सुधार्नुपर्छ भन्दै प्रहरी महानिरिक्षक खनालले प्रहरी भनेको हाम्रै हो भन्ने बुझाइलाई समाजमा सम्प्रेषण गरिदिनका लागि आग्रह गरे।
सकारात्मक सोचको विकासका लागि फिल्मको ठुलो भूमिका रहने भन्दै केही क्षण रमाउनका लागि मात्र फिल्म बनाउने भन्दा नेपाललाई समृद्ध बनाउनका लागि पनि फिल्म बनाउनु आवश्यक रहेको उनले बताए। उनले भने‚ ‘नेपालका मुर्धन्य प्रतिभाहरु तपाईंहरु हुनुहुन्छ। आलोचनात्मक हुनुस् तर सम्पुर्ण नागरिकलाई प्रहरी छँदै छ नि भन्ने अवस्था सिर्जना गर्ने दायित्व पनि सम्झनुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।