तेहरान- इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले सोमबार तेहरानमा एक समारोहबीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए। कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए।
सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो। यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ। जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको बताइएको छ।
यता इरानी सर्वाेच्च नेताले यसको कडा बदला लिने चेतावनी दिएका छन्। इरानले देशभर तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको छ। त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तर्राष्ट्रिय आतङ्कवाद भनी आरोप लगाएका छन्।
शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन्। चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् तर यूरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशील भएर संयमता अपनाउन आग्रह गरेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।