काठमाडौं– स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कामयै राखेको छ । बार्सिलोनाले लगातार छैटौं जित निकाल्ने क्रममा गिरोनालाई ३–० ले पराजित गर्यो।
बार्सिलोनाले सुरुवाती २ गोल उपहारको रुपमा पायो। १७ मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाको प्रहार रोक्ने क्रममा गिरोनाका एडी बेनिटेजले आफ्नै पोस्टमा गोल गर्न पुगे।
पहिलो हाफमा १–० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर पार्यो । यसपटक पनि बार्सिलोनाले उपहार गोल पायो । एलेक्स भिदालको क्रसलाई रोक्ने क्रममा गिरोनाका गोलकिपर गोर्का इराजजोजले आफ्नै पोस्टमा बल छिराउन पुगे।
६९ मिनेटमा सेर्जी रोबर्टोको लङ बलमा लुइस सुआरेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे । खेलमा बार्सिलोनाका फरवार्ड लिओनल मेसीलाई गिरोनाका डिफेन्डरले चल्न दिएनन्। मेसीले अघिल्ला ५ खेलमा ११ गोल गरिसकेका छन्।
बार्सिलोनाले नवप्रवेशी गिरोनालाई हराउनुअघि रियल म्याड्रिडले अलाभेसलाई २–१ तथा एट्लेटिको म्याड्रिडले सेभिल्लालाई २–० ले हराए । लिगमा बार्सिलोना ६ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको एट्लेटिकोको १४ तथा तेस्रो स्थानको सेभिल्लाको १३ अंक छ । साविक विजेता रियल ११ अंक जोडेर चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।