काठमाडौं- सिन्धुपाल्चोकका नरेशमान तामाङ कतारमा २ वर्ष पसिना बगाएर स्वदेश फर्किए। दुई वर्ष कतारमा काम गरेर कमाएको पैसा ऋण तिरेर केही बचेको थियो उनको। उनी फेरि खाडी जाने वा नेपालमै केही व्यवसाय गर्ने भन्ने दोधारमा परे।नरेशमानका केही साथीहरुले युरोपेली मुलुक अर्मेनियामा राम्रो कमाइ हुने सुनाए। दोधारमा रहेका नरेशमानलाई युरोप मोहले तान्यो। उनी अर्मेनिया जान तयार भए।
तर, उनलाई भनिएअनुसार अर्मेनिया युरोपियन राष्ट्र होइन। याे पश्चिम एसियाली मुलुक हो। एसिया र युरोपको बीचमा पर्ने यो मुलुकबारे नरेशमानलाई थाहा थिएन। तर, युरोप जान पाइने र कमाइ पनि राम्रो हुने सुनेपछि उनी अर्मेनिया जान तयार भएका थिए। उनकाे अपेक्षा पनि कमाउने नै थियो।
अर्मेनियाको सुपरमार्केटमा सेल्सको काम गर्ने भनिएको थियो उनलाई। मासिक ७ सयदेखि ९ सय डलरसम्म आम्दानी हुने र ओभरटाइमलगायत सेवा-सुविधा पनि हुने भएपछि उनी मख्ख पनि थिए।
काठमाडौंकाे धुम्बाराहीस्थित एटलस ओभरसिज प्रालिले उनलाई अर्मेनिया पठाउने भनेको रहेछ। साथीहरुसँगै नरेशमान कामका बारेमा बुझ्न म्यानपावर पुगे। म्यानपावरले ३ लाख रुपैयाँ लाग्ने सुनायो। मासिक ७ सयदेखि ९ सय डलर कमाइ हुने भएपछि उनले म्यानपावरलाई सजिलै ३ लाख रुपैयाँ दिए।
‘युरोपेली मुलुक हो भन्ने सुने कमाइ पनि राम्रो होला भन्ने लाग्यो। कतारबाट कमाएर ल्याएको पैसा छँदै थियो। त्यति लगानी गरेर राम्रो कमाइ हुने ठाउँमा पुगिन्छ भने त भइहाल्यो नि भन्ने सोचेँ,’ नरेशमानले नेपाल लाइभसँग भने।
नरेशमानले पैसा बुझाए। अर्मेनिया जान भारतको रुट प्रयोग गर्नुपर्ने म्यानपावरले सुनायो। नरेशमानले भारत हुँदै जानु अवैधानिक भएको सुनेका थिए। म्यानपावरलाई उनले भने, ‘म भारत हुँदै त जान्न। यसरी जानु त अवैध हो।’
म्यानपावरले नेपालबाट सिधैं अर्मेनिया उडान नभएको भन्दै भारतस्थित नेपाली दूतावासबाट 'नो अब्जेक्सन लेटर' (एनओसी) लिएर वैधानिक रुपमा जान मिल्ने सुनायो। त्यसपछि नरेशमान र उनका साथीहरु भारत हुँदै अर्मेनिया जान तयार भए।
नरेश र उनका साथीहरुसहित अन्य २२ जना युवालाई म्यानपावरले भारतको नयाँ दिल्लीमा लगेर राख्याे। उनीहरुबाट प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म लिइएको थियो। कहिले एउटा होटलमा राख्थ्यो त कहिले अर्कोमा उनले सुनाए। म्यानपावरका एजेन्टले भिसा भोलि–भोलि भन्दै उनीहरुलाई झुलाइरहेका थिए।
नरेशमान र उनका साथीहरुले करिब ३ महिना भारतमा बिताए। तर, भिसा आएन। पछि एजेन्ट नै बेपत्ता भएपछि मात्र आफूहरु ठगिएको उनीहरुले थाहा पाए। ‘हामी २२ जनामा मध्ये खाडीमा कमाएर आएका साथीहरु बढी थियौँ, खाडीमा भन्दा राम्रो कमाइ अर्मेनियामा हुने भन्दै एटलस म्यानपावरले हामीबाट ६५ लाखभन्दा बढी रकम उठाएको थियो,’ नरेशमानले भने।
अहिलेसम्म म्यानपावरले उनीहरुबाट लिएको रकम फिर्ता दिएको छैन्। पैसा माग्न धाउँदा-धाउँदा नदिएपछि उनीहरुले वैदेशिक रोजगार विभागमा उजुरी हालेका छन्। ‘हामी जस्ता थुप्रै युवालाई अर्मेनिया युरोप हो भन्दै झुक्याएर अर्बौं रकम ठगी गरेको रहेछ,’ उनले भने।
000
साउदीमा हेभी ट्रक चालकका रुपमा ५ वर्ष काम गरेर फर्किएका रसुवाका चक्र तामाङ साउदीभन्दा राम्रो कमाइ हुने मुलुकको खोजीमा थिए। सोही क्रममा पोखरा घर बताउने कमल गुरुङसँग उनको भेट भयो। कुरा गर्दै जाँदा उनले पोल्यान्डमा ड्राइभिङ काममा धेरै राम्रो कमाइ हुने सुनाए। ‘ड्राइभिङ काम नै गर्ने भएपछि युरोपमै गर न। एकदम राम्रो कमाइ हुन्छ। एक महिनामा १ हजार डलरभन्दा बढी कमाइ हुन्छ,’ ति एजेन्टले भनेका थिए।
पोल्यान्डमा कमाइ राम्रो भएकाले कमाइअनुसार लागत लाग्ने उनले सुनाए। पोल्यान्ड जान १२ लाख रुपैयाँ लाग्ने उनले सुनाएका थिए। सुरुमा चक्रले ५ लाख रुपैयाँ बुझाए। पोल्यान्ड उड्ने दिन नै बाँकी रकम बुझाउने दुई जनाबीच सहमति भयो।
चक्रले साउदीका सडकमा हेभी ट्रकको स्टेरिङ घुमाएर कमाएको पैसा थियो त्यो ५ लाख रुपैयाँ। युरोपमा टन्न कमाइ हुने भएपछि बाँकी ऋण मिलाएर जाने तयारीमा थिए उनी।
पोल्यान्डको भिसा कुरेर चक्र काठमाडौंमा ३ महिना बसे। भिसा आउँछ-आउँछ भन्दै एजेन्ट कमलले उनलाई थमथमाइ रहेका थिए। करिब ४ महिना पुग्न लागेपछि उनकाे एजेन्टसँग फोन सम्पर्क हुन छाड्यो।
त्यसपछि चक्रले न त एजेन्टलाई भेटे न त फोन सम्पर्क नै भयो। उनीसँग पैसा बुझाएको प्रमाण पनि केही छैन। केही दिनकाे भेटमा भएकाे कुराकानीलाई चक्रले सजिलै विश्वास गर्दा उनकाे खाडीमा बगाएकाे पसिनाकाे कमाइ पनि एजेन्टको खल्तीमा पुग्यो।
000
नरेशमान र चक्रजस्ता खाडीमा पसिनासँग पैसा साटेर फर्किएका युवाहरु युरोपेली मुलुक जाने माेहमा खाडीमा दुःख गरेर कमाएको रकम एजेन्टको खल्तीमा पुर्याउने धेरै छन्। भारत हुँदै युरोप पुर्याउने दलालले उनीहरूलाई बाटोमा नै अलपत्र पार्ने गरेका छन्।
कतिपय युवालाई पोल्यान्ड, पोर्चुगल, इटाली, टर्कीलगायत मुलुकमा राम्रो काम र कमाइ भएको भन्दै ठगी गर्ने गरेको पाइएको छ। कतिपय युवाहरुलाई युरोपेली मुलुक भन्दै जोखिमयुक्त मुलुकमा लगेर अलपत्र पार्ने गरिएकाे छ। रोजगारीको प्रलोभनमा युवाहरु लिबिया, इराक, इजिप्ट, सिरियालगायतका जोखिमयुक्त मुलुकमा पुगेर अलपत्र परेका छन्।
न्याय पहुँचबाट टाढा
युवाले एजेन्टलाई सजिलै विश्वास गरी रकम बुझाउने गरेको पाइएको छ। एजेन्टले नगद बुझेको प्रमाण समेत दिँदैनन्। आफूले बुझाएको रकमको प्रमाण नहुँदा उजुरी गर्न पनि समस्या छ।
वैदेशिक रोजगारीमा पठाउने भनेर लेखिएको प्रमाण नहुँदासम्म विभागले उजुरी लिँदैन। कुनै प्रमाण नभेटेसम्म प्रहरीले पनि उजुरी लिँदैन। यसकारण पीडितहरु न्यायकाे पहुँचबाट टाढा हुने गरेका छन्। एजेन्टले विभिन्न छद्मभेषी नाम प्रयोग गरेको हुँदा उनीहरुलाई पत्ता लगाउन समेत सजिलो छैन। यस्ता किसिमका ठगी रोक्न युवा नै सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल बताउँछन्।
४ महिनामै १४ करोड ठगी
वैदेशिक रोजगारीको प्रलोभनमा व्यक्तिका साथै म्यानपावरबाट पनि युवा ठगीने क्रम बढ्दो छ। पछिल्लो समय म्यानपावरको ठगी व्यक्तिगत ठगीतर्फ मोडिने क्रम बढ्दै गएको महानिर्देशक भुसालले बताए। विभागले एजेन्ट खारेज गरेपछि पनि एजेन्टले प्रलोभन देखाइ ठगी गरिरहेको पाइएकाले युवाहरू सचेत हुनुपर्ने उनको भनाइ छ।
‘पछिल्लो समय वैदेशिक रोजगारीमा आफन्तले नै प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्तिसमेत बढ्दै गएको छ। अमेरिका, युरोप मोहले ठूलो रकम एजेन्टको खल्तीमा गइरहेको छ,’ महानिर्देशक भुसाल भन्छन्, ‘हामी ठगी नियन्त्रणका लागि अहोरात्र खटिएका छौँ।’
विभागमा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ५ सय २ म्यानपावरबाट ठगीका उजुरी परेका छन्। वैदेशिक रोजगारीका नाममा म्यानपावरबाट नै ५ सय २ जनाबाट १३ करोड ७६ लाख ८५ हजार ८ सय भन्दा बढी ठगी भएको भन्दै विभागमा बिगो माग दाबी गरिएको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।