एजेन्सी– अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी जनरल कासिम सोलेमानीप्रति श्रद्धान्जली अर्पण गर्न आइतबार इरानी शहर आभाजमा लाखौं मानिस सडकमा उत्रिएका छन्। उनीहरुले ‘अमेरिका मुर्दावाद’ भन्दै नाराबाजी पनि गरेका छन्।
सोलेमानीको शवलाई आइतबार सबेरै बगदादबाट ल्याइएको हो। शव ल्याइनुअगावै दक्षिणपश्चिमी सहर आभाजमा काला कपडा लगाएका लाखौं इरानी सडकमा देखिएका थिए। सोलेमानीको शव आभाज ल्याइनुअघि राष्ट्रिय झण्डा ओढाइनुका साथै सैनिक ब्याण्डले शोकधुन बजाएको थियो।
यसैगरी, राजधानी तेहरानमा संसद बैठकका दौरान सांसदहरुले पनि केहीबेर ‘अमेरिका मुर्दावाद’ को नारा लगाएका थिए। सभामुख अलि लारिजानीले भने, ‘ट्रम्प सुन, यो समग्र इरानी जनताको आवाज हो।’

इरानका दोस्रा शक्तिशाली व्यक्तित्व मानिएका सोलेमानी गत साता अमेरिकाले बगदादमा गरेको हवाई आक्रमणमा मारिएका थिए। यो घटनापछि अमेरिका र इरानबीचको तनाव चुलिएको छ।
सोलोमानीसँग निकट सम्बन्ध रहेका इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले आक्रमणको बदला लिने चेतावनी दिएका छन्। विश्लेषकहरुले अब इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण गर्ने या अमेरिकी निशानामा पारम्परिक रुपले युद्ध लड्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।